लगानीकर्ताहरू निरन्तर दबाबमा


नेपाल समाचारपत्र, काठमाडौं ।

विगत केही दिनयता शेयर बजारमा निरन्तर ओरालो लागेको छ । यसैक्रममा बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेको छ ।यस दिन नेप्से ४ दशमलव १३ अंकले घटेर २८२३ दशमलव ८७ बिन्दुमा झरेको छ । दैनिक १९ अर्ब रुपियाँसम्म कारोबार हुँदै आएको बजारमा कारोबार रकममा पनि उच्च गिरावट आएको छ । बुधबार २२० वटा कम्पनीको १ करोड ६२ लाख ४८ हजार कित्ता शेयर ५ अर्ब ८३ करोड ८५ लाख ५१ हजार रुपियाँमा किनबेच भएको छ।

आर्थिक वर्षको अन्त्य, बैंकको कर्जा असुली तथा करको चापलगायत निरन्तरको गिरावटका कारण लगानीकर्ता दबाबमा रहेका छन् । विशेषगरी नेपाल धितोपत्र बोर्डले ५१ वटा कम्पनीलाई जोखिययुक्त लगानीको सूचीमा समावेश गरेपछि त्यसको नकारात्मक असर शेयर बजारमा पर्दै आएको छ । नेपाल राष्ट्र बैंकले ल्याउने आगामी आर्थिक वर्षको मौद्रिक नीतिलाई पनि लगानीकर्ताले पर्खिएर बसेका छन् । केन्द्रीय बैंकले पुँजी बजारलाई कसरी सम्बोधन गर्छ भन्ने विषयले शेयर बजारको आगामी बाटो तय हुने विश्वास लगानीकर्ताको छ । बुधबार नेपाल इन्स्योरेन्सको सबैभन्दा धेरै ३० करोड ४२ लाख रुपियाँको शेयर कारोबार भएको छ भने एनएलजी इन्स्योरेन्सको २१ करोड ६९ लाख, नेसनल हाइड्रोपावरको १८ करोड ७६ लाख, नेपाल पुनर्बीमा कम्पनीको १४ करोड ७६ लाख र ज्योति विकास बैंकको १३ करोड ८१ लाख रुपियाँ बराबरको शेयर कारोबार भएको छ।

बुधबार कारोबारमा आएका १३ वटा समूहमध्ये ६ वटाको परिसूचक सकारात्मक देखिएको छ भने बाँकी ७ समूहको सूचक नकारात्मक छ। यस दिन फाइनान्स समूहको सूचक सबैभन्दा धेरै बढेको छ। फाइनान्स समूहको सूचक ५ दशमलव ८१ प्रतिशतले बढेको छ । समग्र परिसूचक घटेको दिन पोखरा फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । त्यस्तै सेन्ट्रल फाइनान्सको सूचक ९ दशमलव ९७ प्रतिशत, नेपाल फाइनान्सको ९ दशमलव ८६ प्रतिशत, मल्टिपर्पस फाइनान्सको ९ दशमलव ७५ प्रतिशत, र प्रोगेसिभ फाइनान्सको ९ दशमलव ६८ प्रतिशतले बढेको छ । त्यस्तै जलविद्युत् लगानी तथा विकास कम्पनीको शेयरमूल्य सबैभन्दा धेरै घटेको छ भने खानी खोला हाइड्रोपावर, गणपति माइक्रोफाइनान्स, सबैको लघुवित्त र सोल्टी होटल पनि शेयर मूल्य घट्ने कम्पनीको सूचीमा छन् ।
ब्रेकर

आर्थिक वर्षको अन्त्य, बैंकको कर्जा असुली तथा करको चापलगायत निरन्तरको गिरावटका कारण लगानीकर्ता दबाबमा रहेका छन् । विशेषगरी नेपाल धितोपत्र बोर्डले ५१ वटा कम्पनीलाई जोखिययुक्त लगानीको सूचीमा समावेश गरेपछि त्यसको नकारात्मक असर शेयर बजारमा पर्दै आएको छ ।