पीडामा ‘मकवानपुरको कर्णाली’, भोक मेटाउन जंगल पस्नुपर्ने बाध्यता

7.33k
Shares

रोशन पराजुली, हेटौंडा ।

भोक टार्न दैनिक ज्यालादारी गर्ने चेपाङ समुदाय कोरोनाका कारण जारी निषेधाज्ञाले यति बेला जंगल पस्न थालेका छन् । मकवापुरको विकट गाउँपालिका राक्सिराङमा हाल भोकमरी भएकाले दैनिक ज्याला मजदुरी गरेर जीवनयापन गर्दै आएका चेपाङहरू जंगल पस्न बाध्य भएका हुन् ।

लामो समयदेखि जिल्लामा निषेधाज्ञा जारी छ । बिहान/बेलुका खोलेफाँडो खाएर पेट भर्ने अवस्था नभएपछि उनीहरू गिठ्ठा, भ्याकुर खोज्न जंगल पस्न थालेका हुन् । भिरालो पाखो बारी, नजिकै जंगल भीरपहरा, आसपासमा ससाना झुपडीमा बस्ने चेपाङ समुदाय थोरै अन्नको साथमा वनजंगलमा पाइने कन्दमूल, वनस्पति, फलफूल खाएर जीविकोपार्जन गर्छन् । उनीहरूको जीविकोपार्जनको प्रमुख स्रोत भनेकै गिठ्ठा, भ्याकुर, चित्राफुंगा, चिउरी हो । चेपाङ बस्ती पाखो खोरिया र उब्जनी नहुने ठाउँमा हुनुका साथै उक्त स्थानमा खानेपानीको समस्या पनि चर्को छ ।

भिरालो जग्गा भएको राक्सिराङमा खेतीयोग्य जमिन नहुँदा हरेक वर्ष उनीहरू भोकमरीको मारमा पर्दै आएका छन् । यो वर्ष पनि कोरोना र खडेरीले उनीहरू मारमा परेका छन् । राक्सिराङका अधिकांश चेपाङ समुदाय दैनिक ज्याला मजदुरी, काठमाडौंका होटल र गाउँमा ज्यालादारी गरेर आफ्नो जीविका निर्वाह गर्दै आएका छन् ।

अति विपन्न वर्गमा पर्ने चेपाङ समुदायमा अशिक्षाका कारण परिवार संख्या भने ठूलो हुने गरेको छ । जसले गर्दा उनीहरू पेट पाल्नका लागि जंगल र खोलामा पाइने माछा तथा कन्दमूलको भरपर्ने गर्छन् ।

राक्सिराङ–९, खैराङका राजकुमार चेपाङ बिहानबेलुका हातमुख जोर्न दैनिक जंगल धाउनुपर्ने अवस्था रहेको बताउँदै भन्नुहुन्छ– ‘राक्सिराङका प्रायः सबैको दैनिकी जंगलमा पाइने कन्दमूल खोज्नमा बित्ने गरेको छ । बन्दले मजदुरी गर्न नपाएपछि बाँच्नका लागि जंगलको भर पर्नुपरेको छ ।’

राक्सिराङका सुक्खा ठाउँमा मकैबाहेक अन्य बाली कमै फल्छ । करिब पाँच महिना लगाएर उत्पादन भएको मकैले त्यहाँका चेपाङलाई ३ महिना मात्र खान पुग्छ । मंसिरबाट उनीहरू फेरि के खाने कसो गर्ने भन्ने चिन्तामा हुने गर्छन् । यस वर्ष लामो समय पानी नपर्दा समयमा मकै लगाउन नपाएका राक्सिराङका चेपाङले भएको मकैमा मल हाल्न पाएका छैनन् । जसले उत्पादन गत वर्षको तुलनामा घट्ने र भोकमरी बढ्ने सम्भावना रहेको चेपाङहरू बताउँछन् ।

सरकारले सूचीकृत गरेको ५९ आदिवासी जनजातिमध्ये चेपाङ पनि एक हो । सूचीकृत आदिवासीमध्ये चेपाङ अति सीमान्तकृत समुदायमा पर्दछ । चेपाङलाई ‘प्रजा’ भनेर पनि चिनिन्छ । तत्कालीन राजा वीरेन्द्रले २०३४ सालमा मकवानपुरको मनहरी आउँदा ‘तिमीहरू को हौ’ भनेर सोधनी हुँदा ‘प्रजा हौं’ भनेपछि पहिचान ‘प्रजा’ भएको भनाइ छ ।

चेपाङ बाहुल्य दोस्रो जिल्ला हो मकवानपुर, जहाँ करिब १९ हजार दुई सय ३३ चेपाङ रहेको सरकारी तथ्यांक छ । पालिकाको कुल जनसंख्याको ३७ प्रतिशत चेपाङ छन् । वर्षदिने चक्रअनुसार चेपाङ समुदायको फागुनदेखि जेठसम्म खानका लागि कठिन समय हो । यिनै समस्या समाधान गर्न गाउँसम्म जोड्न निर्माण भएको दुईवटा कृषि सडकका लागि वागमती प्रदेश सरकारले लगानी गरेको छ ।

शिलाधुनी–मानेडाँडा–थाहापहराको पाँच किलोमिटर सडकका लागि ४० लाख र ठूलो टोड्के–जाब्राङ–चरीमारा आठ किलोमिटर सडकमा २४ लाख ५० हजार लगानी गरिएको छ । टोड्के, चितवनको भण्डाराबाट सवारीमा चार घण्टा र जिल्लाको पश्चिम मनहरी गाउँबाट आठ घण्टा पैदल यात्राबाट पुगिन्छ ।

चेपाङ समुदायको बसोबास भएको ठाउँमा परम्परागत्रूपमा उपलब्ध स्रोतसाधनमाथि उनीहरूको स्वामित्व र नियन्त्रण एकदम कम छ । खाद्यान्नमा आधारित सुरक्षालाई मान्ने हो भने त्यहाँका चेपाङ समुदाय अत्यन्त असुरक्षामा बाँच्छन् । लगभग चार प्रतिशत चेपाङ परिवारसँग मात्र खाद्य वचत हुने अनुमान छ ।