नेपालको एकमात्र केन्द्र संघको बेवास्तापछि प्रदेशको चासो

280
Shares

न्युज अफ नेपाल, हेटौंडा ।

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडा–१० मा रहेको नेपालको एकमात्र कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको वर्तमान कार्यक्षेत्र र क्षमता बिस्तार गरी प्रदेश सरकारअन्तर्गत् मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान संरचनामा केन्द्र सञ्चालन अनुमतिका लागि आग्रह गर्नुभएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री कृष्णगोपाल श्रेष्ठसँग भेट गर्दै प्रदेशका मुख्यमन्त्री पौडेलले यस्तो आग्रह गर्नुभएको हो । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक सत्र तथा प्रयोगशालाबारे मुख्यमन्त्रीले गरेका प्रस्ताव सकारात्मक रहेको स्वास्थ्य मन्त्री श्रेष्ठले बताउनुभएको छ ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले यस वर्ष पहिलोपटक शैक्षिक कार्यक्रम शुरु गर्न लागेको छ । प्रदेश सरकारको ‘ड्रिम प्राजेक्ट’ का रुपमा प्रतिष्ठानलाई लिइएको मुख्यमन्त्री पौडेलले बताउनुभयो । अर्को वर्षदेखि प्रतिष्ठानमा एमबीबीएस पढाइ हुने र हेटौंडा अस्पताललाई ५ सय बेडको अस्पतालका रुपमा विकास गर्न लागिएको उहाँको कथन छ । प्रदेश सरकारले स्थापना गरेको स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्यसम्बन्धि विभिन्न विषयमा स्नातक तहसम्म अध्यापन गराउन अघिल्लो महिना अनुमति प्राप्त गरेको छ । चिकित्सा शिक्षा आयोगले प्रतिष्ठानलाई तीन विधामा अध्यापन अनुमति दिएको र अब पढाइ सुरु गर्न लागिएको प्रतिष्ठान रजिष्टार राजेश प्रसाईंले बताउनुभयो ।

जनस्वास्थ्य, फार्मेसी र मेडिकल ल्याब टेक्नोलोजी अध्यापन गराउन अनुमतिप्राप्त भएअनुसार शैक्षिक कार्यक्रम शुरु गर्न लागिएको प्रसाईंले जानकारी दिनुभयो । अध्ययन/अध्यापन कार्यका लागि अनुसन्धान केन्द्रको खाँचो पर्ने भएकाले उक्त केन्द्रलाई प्रयोगमा ल्याउने प्रयास गर्दै सम्बन्धित मन्त्रीसँग आग्रह गरिएको मुख्यमन्त्रीका स्वकीय सचिव अनुप पौडेलले बताउनुभयो । विकासशील राष्ट्रहरु आक्रान्त पार्दै आएको कीटजन्य रोग अनुसन्धानमा ती देशलाई समेत सघाउन नेपालमा स्थापित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रले लामो समय विशेषज्ञ नै पाउन सकेन भने सरकारी बेवास्ताको शिकार बनिरहेको छ ।

त्यसैले प्रतिष्ठानअन्तर्गत् सञ्चालनको सोच बनाइएको हो । औलो, डेंगु, स्क्रब टाइफस, चिकनगुनियालगायत कीटजन्य रोग रोकथाम, नियन्त्रण, निवारण तथा व्यवस्थापनका लागि राष्ट्रिय कानुन, नीति, रणनीति, निर्देशिका तयार गर्न सहयोग गर्ने, कीटजन्य रोग निदान, उपचारलगायत रोग व्यवस्थापनका लागि आवश्यक प्रविधिक जनशक्ति विकासका लागि समन्वय तथा सहयोग गर्ने, कीटजन्य रोग रोकथाम, नियन्त्रण, निवारण तथा व्यवस्थापनमा प्रदेश र स्थानीय तहलाई आवश्यक सहयोग तथा समन्वय गर्ने र कीटजन्य रोग निदानसम्बन्धि संघस्तरको वार्षिक कार्ययोजना तर्जुमामा सहयोग तथा कार्यान्वयन गर्ने उद्धेश्यले हेटौंडा–१० मा संघीय सरकारले केन्द्र स्थापना गरेको हो ।

कीटजन्य रोग निदानसम्बन्धि अध्ययन, अनुसन्धानका लागि आवश्यक सहयोग तथा समन्वय गर्ने, कीटजन्य रोग निदान नियन्त्रण सम्बन्धमा रोकथाम, नियन्त्रण, निवारण तथा व्यवस्थापनका लागि आवश्यक उपकरण तथा औजारको आपूर्ति तथा व्यवस्थापनका लागि सहजीकरण गर्ने, कीटजन्य रोगसम्बन्धि सूचना व्यवस्थापनलगायत कार्यमा समन्वय र सहकार्य गर्ने, कीटजन्य रोगसम्बन्धि राष्ट्रियस्तरमा अनुगमन तथा मूल्यांकन, सर्वेक्षण, सर्भिलेन्स तथा अनुसन्धानबारे सहयोग गर्ने र हात्तीपाइले, कालाजारलगायत रोगहरुको रोकथाम, नियन्त्रण, निवारण तथा व्यवस्थापनका लागि राष्ट्रिय कानुन, नीति, रणनीति, निर्देशिका तयार गर्न सहयोग गर्ने आदि लक्ष्यसहित केन्द्र स्थापना गरिएको हो ।

कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रमुख जिम्मेवारी विभिन्न कीटजन्य रोगहरुसँ सम्बन्धित अनुसन्धान तथा तालिम प्रदान गर्नु हो । केन्द्र कीटजन्य रोगस“ग सम्बन्धित तालिम तथा अनुसन्धानका लागि जिम्मेवार छ । कीटजन्य रोग नियन्त्रणसम्बन्धि अनुसन्धान, स्वास्थ्यकर्मीलाई कीटजन्य रोग व्यवस्थापन, एकीकृत व्यवस्थापन, औलो माइक्रोस्कोपी, कालाजार उन्मूलनसम्बन्धि तालिम प्रदान गर्ने र कीटजन्य रोगसम्बन्धि विभिन्न स्तरका अनुसन्धान गर्ने जिम्मेवारी केन्द्रलाई दिइएको छ ।

केन्द्र सन् १९७९ मा स्थापना गरिएको हो । केन्द्रलाई सरकारले सार्कस्तरीय कीटजन्य रोग अनुसन्धान केन्द्र बनाउने महत्वाकांक्षी लक्ष्य बनाएको छ । राष्ट्रियस्तरमै सरकारको बेवास्ताको शिकार बनेको केन्द्र कहिले सार्कस्तरीय बन्ला भन्नेमा सोच्नै नसकिने अवस्था छ । केन्द्र हाल पुरानै ढंगले सामान्य तालिममा मात्र खुम्चिएको छ ।