‘शालीन प्रयास गरें भएन, असाधारण निर्णयतिर सोच्दैछु’

सभामुख–सम्पादक अन्तरक्रिया


नेपाल समाचारपत्र, काठमाडौं । 

विघटित प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले शालीन व्यवहारले नै लोकतान्त्रिक संस्कार बढाउन सकिन्छ भन्ने आफ्नो विश्वासलाई बारम्बार असफल पारिएकाले असाधारण निर्णयतिर सोच्न बाध्य भएको बताउनुभएको छ ।

प्रतिनिधिसभामा मैले प्रधानमन्त्रीजीलाई रुलिङ गर्न नसकेको भन्ने टिप्पणी म स्वीकार गर्छु, शालीन व्यवहारले नै काम हुन्छ भने टसलमा किन आउने भन्ने मेरो धारणा हो, तर अब असाधारण निर्णयको विकल्प पनि सोच्दैछु’ सभामुख सापकोटाले मंगलबार संसद् भवनमा आयोजित सम्पादक समूहको भेलामा बताउनुभयो ।कानुनविद्, पूर्व सभामुख र राजनीतिक दलका नेताहरूसँग गत जेठ महिनादेखि आफ्नो भूमिकाको खोजीका लागि अन्तरक्रिया गर्दैआएका सभामुख सापकोटा बीचमा ‘असाधारण अधिकार प्रयोग गर्ने’ भनेका कारणले चर्चामा पनि आउनुभयो । तर, असाधारण अधिकार के हो भन्ने जवाफ सम्पादक समूहको अन्तरक्रियामा पनि आंशिक मात्र खुलाउनुभयो ।म बोलेर होइन, व्यवहारबाटै कार्यसफलता प्रमाणित गर्ने कुरामा विश्वास राख्छु, शालीन र शिष्ट हुनुपर्छ, ज्ञानको आयतन बढी भएका अनुभवी व्यक्तिको संगतले आफू पनि असल पात्र बनिन्छ भन्नेमा मेरो विश्वास छ, सभामुखको गरिमामय पद पनि आवेशमा आएर काम गर्नका लागि होइन, कुनै पनि दलको बोली मैले बोल्न मिल्दैन, तर जब राष्ट्रिय स्वार्थमाथि प्रहार हुन्छ मैले पनि असाधारण व्यवहार देखाउन करै लाग्छ’ सभामुख सापकोटाले आंशिक जानकारी दिनुभयो ।

निरन्तर १५ वर्ष शिक्षण पेशामा रहेर ‘सर–सर भनिएर उच्च आचरण देखाउने अभ्यास गरेको कारण’ सभामुखको पदमा रहेर राजनीतिक दलका नेताले जस्तो आन्दोलन गर्न नसकेको बताउँदै उहाँले भन्नुभयो– बालुवाटारको निवासबाट मलाई प्राविधिक कारणले मात्र निकालेको होइन, सुनियोजित तरिकाले नै विभेदको व्यवहार गरिएको हो भन्ने टिप्पणीप्रति म गम्भीर छु ।राजधानीबाट प्रकाशित–प्रसारित सञ्चार माध्यमका करिब २५ सम्पादकहरूको भेलामा १४ सहभागीले उहाँलाई सुझाव दिएका थिए । सुझावमा शक्ति पृथकीकरणको सिद्धान्तमा आधारित रहेर हेर्दा कार्यपालिकाका प्रमुख प्रधानमन्त्री केपी ओली र न्यायपालिकाका प्रमुख चोलेन्द्र शमशेर जबराले आ–आफ्नो क्षेत्रमा काम गरेर सकारात्मक वा नकारात्मक चर्चा बटुलिरहे पनि व्यवस्थापिकाका प्रमुख भएर सभामुख सापकोटाले भूमिका खेल्न नसकेको, सबैभन्दा कमजोर भएको टिप्पणी गर्दै सशक्त भएर अघि बढ्न भनिएको थियो ।

‘चैत्र २८ गते आयोजित दलका नेताहरूसँगको अन्तरक्रियामा प्रधानमन्त्रीको सहभागिता होस् भनेर उहाँकै निवासमा पनि गएँ, व्यवस्थापिकाको प्रमुख भएर कार्यपालिका प्रमुखको निवासमै गएर आफ्नो तौल घटाइस् भनेर साथीहरूले गरेको टिप्पणी पनि सहें, यो सबै शालीनता र सहज ढंगले लोकतान्त्रिक व्यवस्था कायम गर्न सकियोस् भन्ने उद्देश्यका लागि थियो, तर प्रधानमन्त्रीले अन्त्यमा आएर कार्यव्यस्तताको कारण देखाउँदै भेलामा सहभागी हुनुभएन ।’ सभामुख सापकोटाले जानकारी दिनुभयो ।‘म स्वीकार गर्छु, राजनीतिक दाउपेच सभामुखले गर्नुहुन्न, अर्को कुरा ग्रामीण क्षेत्रमै बसेर २०३७ सालदेखि लामो समयसम्म इमान्दारीको राजनीति गरेका कारण मसँग प्रशासनिक अनुभव पनि कम छ’ उहाँले अन्त्यमा स्मरण गर्नुभयो– ‘सभामुख बनाउन सबै दलले सघाएको, सर्वसम्मत बनाएको अवस्थालाई स्मरण गरेर पनि कुनै दलका पक्षमा र विपक्षमा उभिन चाहिँ मेरो नैतिकताले दिंदैन ।