बिहीबारदेखि आन्तरिक हवाई सेवा, टिकट महँगो


काठमाडौं, (नेस) । 
दुई महिनादेखि बन्द रहेको आन्तरिक हवाई सेवा बिहीबारदेखि पुनःसञ्चालनमा आउने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले सीमित क्षमतामा हवाई उडान सञ्चालन गर्न अनुमति दिएपछि हवाई सेवा पुनःसञ्चालनमा आउन लागेको हो । कोभिड–१९ को दोस्रो लहर आएसँगै गत वैशाख २० गतेदेखि आन्तरिक हवाई उडान स्थगित गरिएको थियो । अहिले कोरोना संक्रमण दरमा कमी आएका कारण सरकारले हवाई सेवा सञ्चालन गर्न अनुमति दिएको छ ।

बिहीबारदेखि हवाई उडान सुचारु हुने भएपछि हवाई सेवा प्रदायक कम्पनीहरूले बुकिङ शुरू गरेका छन् । बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णका अनुसार लकडाउन अगाडि हुँदै आएको उडान संख्याको आधामात्रै उडान अनुमति प्राप्त भएको जानकारी दिनुभयो । लामो समय उडान स्थगित रहेको स्थितिमा आधा संख्यामात्रै उडान अनुमति प्राप्त हुँदा कम्पनीले सञ्चालन खर्च धान्न नसक्ने बताउनुभयो । आधा क्षमतामा उडान गर्नुपर्दा कम्पनीका साथै यात्रुलाई समेत नोक्सानी रहेको कर्णको भनाइ छ । पूर्ण क्षमतामा उडान गर्दा यात्रुहरूले सस्तो भाडादरमा उडान गर्दै आएका थिए । तर, क्षमताभन्दा कम उडान गर्नुपर्ने भएपछि भाडादर महँगो पर्ने गरेको छ । प्राधिकरणले बुद्ध एयरलाई काठमाडौं वेसबाट दैनिक ३१ उडानको अनुमति दिएको छ ।

त्यस्तै सुगम क्षेत्रमा यति एयरलाइन्सले १५, श्री एयरलाइन्सले ७, सौर्य एयरलाइन्सले ३ उडान अनुमति पाएका छन् । यो काठमाडौंबाट उड्ने मात्रै हो । त्यति नै संख्यामा काठमाडौंमा विमान अवतरण हुने छन् । कर्णका अनुसार अहिले विद्युतीय तथा अन्य माध्यमबाट यात्रुले टिकट बुकिङ थालनी गरेका छन् । सोमबार साँझसम्म ६० प्रतिशतभन्दा बढी टिकट बुकिङ भइसकेको छ । त्यस्तै दुर्गम भेगमा उडाउने कम्पनीले भने काठमाडौंबाट दैनिक ८ वटा उडानको अनुमति पाएका छन् । अहिले काठमाडौंबाट तारा एयर र समिट एयरले दुर्गम क्षेत्रमा उडान गर्दै आएका छन् ।