सवारी साधनको आयात बढ्यो


कृष्णउदास खनाल, वीरगन्ज । 

चालू आर्थिक वर्ष २०७७-७८ को ११ महिनाको अवधिमा वीरगन्ज भन्सार नाकाबाट इन्धनको आयात भने बढेको छ । वीरगन्ज भन्सार कार्यालयका अनुसार चालू आर्थिकको साउनदेखि जेठसम्ममा इन्धन र सवारी साधनको आयातमा मात्र करिब डेढ खर्ब रुपियाँ बाहिरिएको छ । यस अवधिमा १ खर्ब ४१ अर्ब १४ करोड रुपियाँको पेट्रोलियम पदार्थ र सवारी साधन आयात भएको भन्सारले बताएको छ । गत आर्थिक २०७६÷७७ को समीक्षा अवधिको तुलनामा यो वर्ष इन्धन र सवारी आयातमा ११ अर्ब रुपियाँ बढी रकम बाहिरिएको हो ।

चालू आवको जेठ अन्त्यसम्ममा १ खर्ब १३ अर्ब ७५ करोड रुपियाँको पेट्रोलियम पदार्थ र २७ अर्ब ३८ करोड रुपियाँ बराबरको सवारी साधन भित्रिएको वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बताउनुभयो । जीप, कार, मोटरसाइकल, ट्रक, बसलगायत १८ प्रकारका सवारी साधन यस नाकाबाट आएको भन्सारले जनाएको छ । गत आर्थिक वर्षको जेठसम्ममा १ खर्ब ७ अर्ब १८ करोड रुपियाँ मूल्यको पेट्रोलियम पदार्थ र २३ अर्ब ४२ करोड रुपियाँको सवारी साधन भित्रिएका थिए । चालू आर्थिक वर्षको जेठसम्ममा वीरगन्ज भन्सारबाट भएको कुल आयातमा इन्धन र गाडी आयातको अंश करिब ३१ प्रतिशत छ । यस अवधिमा यो भन्सारबाट ४ खर्ब ५८ अर्ब रुपियाँ बराबरको वस्तु आयात भएको देखिन्छ ।

कोरोना महामारी नियन्त्रण गर्न सरकारले गत वर्ष चैत ११ देखि करिब ६ महिनासम्म बन्दाबन्दी र निषेधाज्ञा लगाएको थियो । चालू वर्षमा वैशाख १६ यता निषेधाज्ञा जारी छ । ‘चालू वर्षमा निषेधाज्ञाका कारण इन्धन र गाडी आयात घट्ने अनुमान गरिएको थियो । वीरगन्ज नाकाबाट सबैभन्दा बढी डिजेल र हवाई इन्धन भित्रिन्छ । मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनबाट ढुवानी सहज भएकाले डिजेलको अधिकांश परिमाण यही नाकाबाट आउने पौडेलले जानकारी दिनुभयो । चालू आर्थिक वर्षको ११ महिनामा वीरगन्जबाट ५० अर्ब ४० करोड रुपियाँ मूल्यको ८ लाख २८ हजार किलोलिटर डिजेल आएको भन्सारको तथ्यांक छ । यस अवधिमा २ लाख ८४ हजार किलोलिटर पेट्रोल र १ लाख २२ हजार किलोलिटर हवाई इन्धन आयात भएको छ । यस नाकाबाट १५ प्रकारका पेट्रोलियम पदार्थ भित्रिएको भन्सारले बताएको छ ।