टेकु अस्पतालको निर्देशकमा डा. बास्तोला


काठमाडौं, नेस । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको निर्देशकमा डा. अनुप बास्तोलालाई नियुक्त गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलका अनुसार सोमबार सरुवा रोग विशेषज्ञ डा. बास्तोलालाई निर्देशक पदमा नियुक्त गरिएको हो ।

उमेर हदका कारण निर्देशक पदबाट डा सागरराज भण्डारी अवकाश भएसँगै रिक्त रहेको पदमा डा. बास्तोला निर्देशकमा नियुक्त गरिएको हो । डा. बास्तोला सन् २००८ देखि टेकु अस्पतालमा कार्यरत हुनुहुन्छ । पछिल्लो समय कोरोना संक्रमणलाई पहिलो बिरामीदेखि नै उपचार तथा अनुसन्धानमा जुट्नुभएका डा. बास्तोलाले धेरै कोरोना संक्रमित बचाएर बिरामीको मनमुटुमा बस्न सफल हुनुभएको छ ।

डा. बास्तोलाले सोमबारदेखि नै निर्देशकको जिम्मेवारी सम्हाली सकेको बताउनुभयो । उहाँले आफू निर्देशकको जिम्मेवारी सम्हालेसँगै टेकुस्थित सरुवा रोग अस्पताललाई अझै व्यवस्थित बनाएर आम नागरिकलाई सहजरूपमा उपचार पाउने थलोका रुपमा विकास गर्न सबै टिमलाई परिचालन गर्ने बताउनुभयो ।