विपक्षी गठबन्धनका नेतामाथि ओलीको आक्रोश


काठमाडौं, (नेस) । 

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विपक्षी गठबन्धनका नेताहरुमाथि आक्रोश व्यक्त गर्नुभएको छ । उहाँले प्रतिनिधिसभा विघटन भएपछि बनेको पाँचदलीय गठबन्धनका शीर्ष नेताहरुको आलोचना गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीविरुद्ध विपक्षी गठबन्धनका नेताहरुले दबाबमूलक अभिव्यक्ति दिएपछि उहाँले प्रतिवाद गर्दै पार्टीबाट कारबाहीमा पर्नुभएका वरिष्ठ नेता माधवकुमार नेपालमाथि सबैभन्दा बढी आक्रोश व्यक्त गर्नुभयो ।सोमबार ७०औं मदन भण्डारी जयन्तीको अवसरमा सोमबार बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले माधव नेपाललाई प्रचण्डको पुच्छर भएको टिप्पणी गर्दै लाजसरम पचेको, अराजक, अनुशासनहीन र इमान नभएको भन्दै आलोचना गर्नुभयो । ‘माधव नेपाल प्रचण्डको मामुली कार्यकर्ता हुन् । तर धाक के लगाएर हिँडेका छन् भने केपी ओलीले मलाई प्रधानमन्त्रीको प्रस्ताव राख्यो ! मलाई बहुला कुकुरले टोकेको छ र ? –उहाँले भन्नुभयो ।

नेता नेपालले अहिले अध्यक्ष, त कहिले प्रधानमन्त्रीको प्रस्ताव राखेको भन्ने प्रचार गर्दै हिँडेको बताउँदै प्रधानमन्त्री ओलीले प्रचण्ड कांग्रेसतिर लागेपछि माधव नेपाल पछिपछि लागेको आरोप लगाउनुभयो । पार्टीको वरिष्ठ नेता भन्ने, तर एमाले ध्वस्त पारेर कांग्रेसको नेतृत्वमा सरकार बनाउन लागेको आरोप लगाउँदै उहाँले राजनीतिका नाममा यस्तो अराजकता दुनियाँको कहीं नहुने टिप्पणी गर्नुभयो । प्रधानमन्त्री ओलीले नेता नेपालमाथि मदन भण्डारीको इतिहास मेटाउन खोजेको आरोप लगाउनुभयो ।

त्यसै गरी, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पनि ओलीले आलोचना गर्नुभयो । ‘कांग्रेसले प्रचण्डपथको मार्गदर्शन सिद्धान्त अँगालेको आरोप लगाउदै उहाँले प्रचण्ड पथको चर्चा सर्वोच्च अदालतमा पनि भएको टिप्पणी गर्नुभयो । नेपाली कांग्रेसका नेताहरु नै नाथुराम गोड्से खोजी गर्ने, खोजी गर्दा भेटिएन भने आफैं हुने भन्ने तहमा पुगेको भनेपछि प्रचण्डपथ नै अँगालेको हो ।’ –उहाँले भन्नुभयो ।फेरि प्रधानमन्त्री बन्ने चाहनाका कारण नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक मार्ग छोडेको आरोप लगाउँदै जनताबाट चुनिएर प्रधानमन्त्री बन्नुपर्नेमा अन्तैबाट प्रधानमन्त्री बन्ने प्रयास गरेको बताउनुभयो ।