लोकतन्त्रवादीको हाल बाँचुन्जेल पद बहाल

देउवा चारपटक प्रधानमन्त्री, पाँचौं प्रक्रियामा


मधुसूदन रायमाझी, काठमाडौं ।

 कम्युनिस्ट दलका नेता लामो समय नेतृत्वमा रहँदा स्वाभाविक मान्दै लोकतन्त्रवादी भए पो त’ भनेर टिप्पणी गरेको सुनिन्छ । तर, आफूलाई लोकतन्त्रवादी मान्ने पार्टीका नेताले सोही कार्य गरे कसरी चित्त बुझाउने ?सन्दर्भ नेपालकै जेठो लोकतन्त्रवादी मानिएको राजनीतिक दल नेपाली कांग्रेसको हो । त्यस दलका सभापति शेरबहादुर देउवाले आसन्न महाधिवेशनमा सभापतिका लागि उम्मेदवारी घोषणा र पाँचौंपटक प्रधानमन्त्री बन्न सर्वोच्च अदालतमा रिट दायर गरेपछि चित्त बुझाउन गारो भएको हो ।

नेपालका राजनीतिक पार्टीमा एउटै नेतृत्व वर्षौंसम्म रहने परिपाटी लामो समयदेखि चल्दै आएको छ । नेतृत्व युवा पुस्तामा हस्तान्तरण गर्ने विषयमा बहस भए पनि राजनीतिक पार्टीमा वर्षौंसम्म एउटै पुस्ताका नेतृत्वको हालिमुहाली रहँदै आएको छ । एकपटक नेतृत्वमा पुगेपछि अर्कोपटक नदोहोरिने प्रतिबद्धता जनाए पनि व्यावहारिकरूपमा सो लागू हुन सकिरहेको छैन । नेतृत्वमै रहिरहनका लागि हुने गुटबन्दी र जालझेलका कारण राजनीतिक पार्टीभित्र विवाद सिर्जना हुने गरेको छ । पार्टीलाई विधिअनुसार सञ्चालन गर्नेभन्दा पनि आफू र आफ्नो गुट कसरी बलियो बनाउने भन्ने अस्वस्थ्य खेलले राजनीतिक दलहरुभित्र शुरू हुने आन्तरिक झगडाका कारण पार्टीहरु विभाजित हुने गरेको दृष्टान्तसमेत रहेका छन् ।

नेपाली कांग्रेसको महाधिवेशन आगामी भदौमा तय भएसँगै पार्टीभित्र नेतृत्वका लागि दौडधूप शुरु भएको छ । पार्टीका शीर्ष नेताहरु आ–आफ्नो तयारीमा जुटेका छन् । पार्टी सभापतिमा पुनः सभापति शेरबहादुर देउवाले पनि दोहोरिने घोषणा गरेर आन्तरिक गृहकार्यमा जुट्नुभएको छ ।पार्टीभित्र एकपटक नेतृत्वमा पुगेपछि बाँचुन्जेल बसिराख्नुपर्ने मानसिकता राजनीतिमा झन् मौलाउँदै आएको छ । एकपटक आफूले नेतृत्व गरेपछि अर्कोपटक स्वतःस्फूर्तरूपमा नेतृत्व हस्तान्तरण गर्ने परम्परा राजनीतिक दलहरुको बीचमा देखिएको छैन । पार्टीभित्र नेतृत्वमा नरहेर पनि पार्टीको लागि योगदान दिन सक्छ भन्ने मान्यताको विकास नै भएको छैन । नेपाली कांग्रेसका युवा नेता गगन थापाले पहिलो पुस्ताका नेताहरुलाई आफूहरुले विश्राम लिन आग्रह गरिरहको बताउनुभयो । उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘हामीले पहिलो पुस्ताका नेताहरुलाई नेतृत्व हस्तान्तरण गर्न भनिरहेका छौ, पहिलो पुस्ताका नेताहरु मान्नुभएन भने युवाहरु एकताबद्ध भएर नेतृत्व हस्तान्तरणका लागि लड्छौं ।’ एक कार्यकाल मात्र नेतृत्वमा रहने प्रतिबद्धता व्यावहारिकरूपमा अझै लागू हुन नसिकरहेकोप्रति चिन्ता व्यक्त गदैै थापाले राजनीतिमा इमानदारीको खडेरी पर्दै गएको टिप्पणी गर्नुभयो ।

राजनीतिमा लागेबापत पार्टीको नेतृत्वको साथै पटक–पटक मन्त्री हुँदै प्रधानमन्त्री बन्दा समेत पुनः दोहो-याएर नेतृत्व गर्ने क्रम देशको राजनीतिक दलको नेतृत्वमा अझै हराएको छैन । झन् विकसित हुँदै गएको छ । यसैबीच आगामी भदौमा नेपाली कांग्रेसको १४औं महाधिवेशनको कार्यतालिका सार्वजनिक भएपछि नेताहरुले सभापतिमा उम्मेदवारी दिन घोषणा धमाधम शुरु गरेका छन् । पार्टीमा आधा दर्जनभन्दा बढीले सभापति पदका लागि उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । १३औं महाधिवेशनमा उम्मेदवारी दिने क्रममा सभापति देउवाले एकपटक पार्टी सभापतिका रूपमा काम गर्न नेता कार्यकर्ताहरुमा आग्रह गर्नुभएको थियो । सोहीबमोजिम महाधिवेशनमा उहाँले सभापति जित्नु पनि भयो । गत महाधिवशेनमा रामचन्द्र पौडेललाई पराजित गर्दै सभापति बनेका देउवाले यस अवधिमा पार्टीलाई बलियो बनाउन नसकेको आरोप पार्टीभित्रबाट खेप्दै आउनुभएको छ । तर पनि आगामी महाधिवेशनमा पुनः एक कार्यकाल सभापतिमा दोहोरिने इच्छा प्रकट गर्नुभएको छ ।

देउवा २०२८ सालमा पहिलोपटक नेपाल विद्यार्थी संघको सभापतिमा विजयी भएपछि राजनीतिक यात्रालाई निरन्तर अघि बढाउनुभयो । २०४७ सालमा जनाअन्दोलन सफल भएपछि २०४८ सालमा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको सरकारमा देउवा गृहमन्त्री बन्नुभएको थियो । २०५३ मा प्रधानमन्त्री बन्नुभएका देउवाले पार्टीको दशौ पोखरा महाधिवेशनमा गिरिजाप्रसाद कोइरालालाई नै नेतृत्वका लागि चुनौती दिँदै उम्मेदवारी दिए पनि विजयी हुन सक्नुभएन ।२०५८ सालमा संसदीय दलमा सुशील कोरालालाई पराजित गर्दै संसदीय दलको नेता बनी दोस्रोपटक प्रधानमन्त्री बन्न सफल देउवा २०६१ साल माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले ‘शाही कू’ मार्फत देउवालाई दोस्रोपटक हटाउँदै सत्ता आफ्नो हातमा लिनुभएको थियो । नेपाली कांग्रेसको राजनीतिमा पाँच दशकपछि र सत्तरी वर्षको उमेरमा २०७२ सालको तेह्रौं महाधिवेशनमा पार्टी उपसभापति रामचन्द्र पौडेललाई हराएर देउवा नेपाली कांग्रेसको पार्टी सभापतिमा विजयी हुनुभएको थियो ।

उमेरले ७५ वर्ष लागेपछि सभापति देउवाले एक कार्यकाल सभापतिमा दोहोरिने चाहना व्यक्त गरेपछि उहाँको पार्टीभित्रै आश्चर्य प्रकट गरिएको छ ।नेपाली कांग्रेसका नेता राजन केसी एउटै व्यक्ति बारम्बार नेतृत्वमा दोहोरिन खोज्नु गलत भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो– ‘पार्टी नेतृत्वमा एउटै व्यक्ति वर्षांसम्म बस्नु गलत हो, एकपटक काम गर्ने अवसर पाएपछि आफ्नो क्षमता देखाएर नेतृत्वबाट बिदा हुनुुपर्छ ।आगामी महाधिवेशनमा नेतृत्व हस्तान्तरणको विषयमा युवा नेताहरुबीच अनौपचारिक छलफल भइरहेको बताउँदै केसीले पुस्ता हस्तान्तरणबिना पार्टीले गति लिन नसक्ने बताउनुभयो ।

२०५३ सालमा गृहमन्त्री

पहिलोपटक २०५२ भदौदेखि २०५३ फागुनसम्म
दोस्रोपटक २०५८ साउनदेखि २०५९ असोजसम्म
तेस्रोपटक २०६१ जेठदेखि २०६२ माघसम्म
चौथोपटक २०७४ जेठदेखि २०७४ फागुनसम्म
२०७२ सालको १३औं महाधिवेशनमा पार्टी सभापति