स्पेनलाई क्रोएसियाको चुनौती


युरो कप २०२० अन्तर्गत अन्तिम १६ को आज दुईवटा खेल हुँदैछ । नेपाली समयअनुसार ९ बजेर ४५ मिनेट बेलुकी स्पेनले क्रोएसियाको सामना गर्नेछ । राति १२ बजेर ४५ मिनेटमा स्विट्जरल्यान्डले फ्रान्सलाई चुनौती दिनेछ । स्पेनको लागि क्रोएसिया कडा प्रतिद्वन्द्वीको रूपमा हुनेछ । डेनमार्कको राजधानी कोपेनहेगनमा हुने सो खेलमा दुवै टिमले क्वार्टरफाइनलको लागि खेल्दैछन् ।

समूह चरणमा दुवै टिमको कथा एउटै थियो । युरोकपका पूर्व च्याम्पियन स्पेनले पहिलो दुई खेल्दा दुई अंक मात्रै जोडेको थियो भने क्रोएसियाको पहिलो दुई खेलमा एक अंक थियो । नकआउट चरणमा पुग्न स्पेन र क्रोएसियाको लागि समूहको अन्तिम खेल महत्वपूर्ण बनेको थियो । तर, दुवै टिमले दबाबमा पनि शानदार प्रदर्शन गर्दै जित निकालेर अन्तिम १६ को यात्रा तय गरे ।स्वीडेन र पोल्यान्डसँग बराबरी खेलेको स्पेनले तेस्रो खेलमा स्लोभाकियालाई लाचार बनाएर ५–० को फराकिलो जित हासिल गरेको थियो । यही जितले स्पेनले नकआउट चरणको टिकट काटेको हो । क्रोएसियाले तेस्रो खेलमा स्कटल्यान्डलाई स्तब्ध तुल्याएर अन्तिम १६ मा पुग्न सफल भयो । क्रोएसिया र स्पेनले यो लयलाई निरन्तरता दिन सकेमा यो खेल रोमाञ्चक हुन सक्नेछ ।

हेड टु हेड

स्पेनले क्रोएसियाविरुद्ध आठ खेल खेलेकोमा चारमा जित हासिल गरेको छ । क्रोएसियाले भने तीनमा जित हात पारेको छ । यदि यो खेल जितेमा क्रोएसियाले स्पेनसँग बराबरी गर्नेछ । अघिल्लोपटक यी दुई टिम २०१८ विश्वकपमा भेट भएका थिए । उक्त खेल निकै प्रतिस्पर्धात्मक भएको थियो । सो खेलमा क्रोएसियाले ३–२ ले जित हासिल गरेको थियो । क्रोएसिया यही नतिजा फेरि दोहो¥याउने धुनमा हुनेछ भने स्पेनको लागि सो हारको बदला लिने लक्ष्य हुनेछ ।

फ्रान्स तुलनात्मकरूपमा बलियो

रातिको खेलमा फ्रान्सले बुकारेस्टमा स्विट्जरल्यान्डसँग खेल्नेछ । समूह चरणको प्रदर्शन हेर्ने हो भने यो खेलमा फ्रान्सलाई चुनौती दिन स्विट्जरल्यान्डले धेरै मेहनत गर्नुपर्ने हुन्छ । फ्रान्स विश्व च्याम्पियन र डेड ग्रुपबाट उम्केर आएको टिम हो । टिममा क्लियन एम्बाप्पे, एन्टोइन ग्रिजम्यान, पउल पोग्बा, करिम बेन्जेमाजस्ता विश्वमा नाम चलेका क्लबहरूमा खेल्ने खेलाडीहरू छन् । यसैले, फ्रान्स तुलनात्मकरूपमा स्विट्जरल्यान्डभन्दा बलियो टिम बनेको हो । तर, एम्बाप्पेले आफ्नो स्तरको खेल भने देखाएका छैनन् ।
यता, स्विट्जरल्यान्डले विश्व च्याम्पियन फ्रान्सलाई स्तब्ध तुल्याउन पनि सक्नेछ । समूह चरणमा स्विट्जरल्यान्डले टर्कीलाई हराएको थियो भने वेल्ससँग बराबरी खेलेको थियो । तर, स्वीस टिम इटालीसँग ३–० ले हारेको थियो । टिम बल्ल तेस्रो स्थानमा उत्कृष्ट भएर नकआउटमा पुगेको हो । फ्रान्सले भने युरोकप च्याम्पियन पोर्चुगल र हंगेरीसँग बराबरी खेलेका थियो भने जर्मनीलाई हराएको थियो । फ्रान्स समूहको शीर्ष टिम बनेर नकआउटमा पुगेको हो ।

हेड टु हेड

फ्रान्स र स्विट्जरल्यान्डले एकआपससँग प्रायजसो अन्तर्राष्ट्रिय मैत्री खेल धेरै खेलेका छन् । प्रमुख प्रतियोगितामा यी दुई टिम सातपटक एक आपसमा भिडेका छन् । १९८८ को फोर नेसन्स प्रतियोगितामा फ्रान्स २–१ ले जितेको थियो । यसपछि २००४ मा भएको युरोपियन च्याम्पियनसिपमा पनि फ्रान्स ३–१ ले जित्न सफल भयो ।
यसपछि, फिफा विश्वकपअन्तर्गत चार खेल खेलिएकोमा तीनओटामा ड्र भयो भने एक खेलको नतिजा फ्रान्सले आफ्नो बनाएको थियो । तर, गत संस्करणको युरोकप २०१६ मा भने स्विटजरल्यान्डले फ्रान्सलाई गोलरहित बराबरीमा रोकेको थियो । जबकी दुई वर्षअघि २०१४ को विश्वकपमा फ्रान्सले स्विटजरल्यान्डलाई ५–२ ले हराएको थियो ।

राजुकाजी शाक्य, प्रशिक्षक तथा पूर्व राष्ट्रिय फुटबलर

स्पेन पहिलाजस्तो देखिएन । धेरैजसो नयाँ खेलाडी भएर हो कि स्पेनले राम्रो खेल्न सकेको छैन । तापनि, आज हुने खेलमा स्पेनले नै जित्ने सम्भावना छ । हामीकहाँ थ्रीस्टार, मनाङ भनेजस्तै नामले नै स्पेनलाई जित दिलाउन सक्छ । त्यसो त क्रोएसिया पनि राम्रै टिम हो, तर, स्पेनको चुनौती पार गर्न क्रोएसियालाई कठिन नै हुनेछ ।अर्को खेलमा फ्रान्सले जित्ने सम्भावना छ । तर, भन्नै पर्दा अहिलेको फ्रान्स तीन वर्ष अघि विश्वकप जितेको टिमको प्रदर्शनभन्दा कमजोर रहेको छ । यद्यपि, टिममा इन्डीभिजुल प्लेयरहरू खतरा छन् । विश्वका विभिन्न शीर्ष लिगमा खेलिरहेका खेलाडी फ्रान्ससँग छन् । यसैले स्विटरजरल्यान्डले फ्रान्सलाई हराउन धेरै कठिन हुनेछ ।
आजको खेलः क्रोएसिया विरुद्ध स्पेन ९ः४५ बेलुकी, कोपेनहेगन
फ्रान्स विरुद्ध स्विट्जरल्यान्ड, १२ः४५ राति, बुकारेस्ट