उपत्यकामा जारी निषेधाज्ञा कायमै ,सार्वजनिक यातायातमा जोर-विजोर लागु


न्युज अफ नेपाल ,काठमाडौं ।

काठमाडौं उपत्यकामा भोलि (मंगलबार) देखि सार्वजनिक सवारीसाधन पनि सञ्चालन गर्न पाइने भएको छ। आज बसेको उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा एक साता थपेको छ ।

गत वैशाख १६ देखि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञामा सार्वजनिक सवारीसाधन सञ्चालन गर्न दिइएको थिएन । निजी सवारीसाधन भने अघिल्लो हप्तादेखि जोर-बिजोर प्रणालीमा चलाउन दिइएको छ। अबको निषेधाज्ञामा काठमाडौं उपत्यकामा २५ सिट माथिका सार्वजनिक बस पनि चल्न दिने भएको छ । तर, सार्वजनिक यातायातमा पनि निजी यातायातमा जस्तै जोर-विजोर लागु हुने ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए ।

बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म चलाउन पाइने सार्वजनिक यातायातमा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने, बसमा स्यानिटाइजर राख्ने तथा सिटमा यात्रुको दूरी कायम हुनुपर्ने छ ।