प्राधिकरणका इन्जिनियरहरू काममा फर्कन सहमत


काठमाडौं, (नेस) । 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) अन्तर्गतका प्राविधिकहरु तत्काल कार्यक्षेत्रमा फर्किन सहमत भएका छन् ।

प्राधिकरणमा भएको वार्ता र छलफलपश्चात् इन्जिनियरहरुले पाउने सञ्चार, यातायात तथा स्थानीय भत्ता उपलब्ध गराउने, प्राविधिकलाई आवश्यक पर्ने तालिमका साथै विभिन्न निकायमा व्यवस्थापन गर्न पहल गर्नेलगायतका सहमति भएका हुन् ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको उपस्थितिमा भएको छलफलपछि प्राधिकरणका तर्फबाट केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का आयोजना निर्देशक श्यामकिशोर सिंह र आन्दोलनरत प्राविधिकहरुको तर्फबाट अविनाश अमरले सहमतिपत्रमा हस्ताक्षर गर्नुभयो ।

सहमति भएका बुँदाहरुमा ओखलढुंगाअन्तर्गत कार्यरत स्व. इन्जिनियर राजा साहको कामकाजकै दौरान मृत्यु भएकोमा साहको परिवारजनलाई बीमाको रकम उपलब्ध गराउन केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) ले पहल गर्ने, प्राधिकरणअन्तर्गत रही विभिन्न समयमा कामकाज गरेका कर्मचारीहरु (प्राविधिकहरु, सामाजिक परिचालकहरु, डकर्मीसमेत) को कार्य अनुभवसहितको विवरण (रोस्टर) तयार पारी अनलाइन पोर्टलमा राख्ने ।

साथै यस रोस्टरलाई सम्बन्धित विभिन्न निकायमा भावी प्रयोजनका लागि प्राधिकरणले पठाउने रहेका छन् ।त्यस्तै प्राविधिकहरुले पाउनुपर्ने सञ्चार खर्च, यातायात खर्च र स्थानीय भत्ता चालू आर्थिक वर्ष २०७७÷७८ को साउनबाटै नियमानुसार उपलब्ध गराउने,प्राधिकरणअन्तर्गतका प्राविधिकलाई (भवन, शिक्षा, जिमाली समेत) भावी दिनमा अन्यत्र काम गर्दा आवश्यक पर्ने ‘रिफ्रेसर ट्रेनिङ’ को व्यवस्था प्राधिकरणले गर्ने लगायतका रहेका छन् ।