आर्थिक पुनरुत्थानका लागि विश्व बैंकले पौने १८ अर्ब ऋण दिने


काठमाडौं, (नेस) । 

विश्व बैंकले नेपाललाई करिब १८ अर्ब रुपियाँ ऋण सहयोग गर्ने भएको छ । कोभिड–१९ महामारीबाट उत्थानशील पुनरुत्थान तथा अति विपन्न र जोखिममा रहेकाहरूको संरक्षण एवं दिगो विकास हासिल गर्न १५ करोड अमेरिकी डलर (करिब १७ अर्ब ७८ करोड रुपियाँ) सहुलियत ऋण उपलब्ध गराउने भएको हो ।

सहुलियत ऋण उपलब्ध गराउने सम्बन्धी वित्तीय सम्झौतामा नेपाल सरकार र विश्व बैंकबीच आइतबार हस्ताक्षर भएको छ । सम्झौतामा अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगाना तथा माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले हस्ताक्षर गर्नुभएको थियो ।‘यस सहयोगले कर र भन्सार प्रणाली, सार्वजनिक लगानी व्यवस्थापन, वातावरणीय नियमन र ऋण व्यवस्थापनमा लगायतका क्षेत्रमा थप सुधार गरी नेपाललाई थप मजबुत बनाउन र हरित पुनर्निमाणमा टेवा पु¥याउनेछ,’ अर्थसचिव ढुंगानाको भनाइ थियो । उक्त बजेटरी सहायता नेपालको आवश्यकता र प्राथमिकताका आधारमा भौतिक पूर्वाधार आयोजना तथा आर्थिक पुनरुत्थानका क्षेत्रमा परिचालन हुनेछ ।

आर्थिक वृद्धि, पुनरुत्थान तथा उत्थानशीलताका लागि विकास नीति सहयोग सम्बन्धित पहिलो चरणको सहयोगले अत्यन्त जोखिममा रहेकाहरूको संरक्षण तथा व्यवसाय वृद्धितर्फ लक्षित सुधारलाई सघाउनेछ । यस क्षेत्रमा गरिने सुधारका कार्यक्रमले सामाजिक सुरक्षा, अन्तर–सरकारी संरचनालगायत व्यवसायको पुँजीमा पहुँच आदि विषयमा समेत विशेष ध्यान दिनेछ । यसले रोजगारी सिर्जना गर्ने, बजारलाई गतिशील बनाउने र हरित पुनरुत्थानलाई सहयोग गर्ने प्रकृतिका चालू ठूला आकारका विकास आयोजनालाई गति दिन मद्दत गर्नेछ ।

‘कोभिड–१९ को महामारीका बेला तथा सोपश्चात पनि यस आयोजनाले नेपालमा दिगो वृद्धि हासिल गर्न सहयोग गर्नेछ, जुन समावेशी, रोजगारी प्रवद्र्धक तथा पर्यावरणीय रूपमा दिगो हुनेछ,’ माल्दिभ्स, नेपाल तथा श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले बताउनुभयो। कोभिड महामारीका समयमा मानिसको जीवन रक्षा तथा अर्थ–व्यवस्थाको पुनरुत्थान गर्नका लागि सरकारले ल्याएका कार्यक्रमलाई सघाउन विश्व बैंक प्रतिबद्ध छ,’ उहाँले थप्नुभयो।

यसैबीच उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडलसँग विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले भेट गर्नुभयो । उहाँले नेपालमा कोभिड नियन्त्रण तथा न्यूनीकरण र उपचारका साथसाथै आर्थिक विकासलाई पनि जोड दिन आग्रह गर्नुभयो । त्यसक्रममा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडलले कोभिडविरुद्धको लडाई र आर्थिक पुनरूत्थापनाका लागि नेपाल सही बाटोमा रहेको बताउँदै सो सन्देश विश्व बैंकको नेतृत्वसमक्ष पु¥याउन आग्रह गर्नु भएको थियो ।