संकटबीच कुँवरको राहत


नेपाल समाचारपत्र, काठमाडौं  । 

कोरोना भाइरसका कारण भएको लकडाउनमा सबैजसो मानिस घरभित्रै बसे तर बाफल काठमाडौंका ताराबहादुर कुँवर भने सधैं राहत वितरण र जनताको उद्धारमा नै लागिरहे ।कुँवरलाई पनि कोरोनाको डर त थियो नै, लागिहाल्यो भने संकटमा परिन्छ भन्ने पनि थियो तर पनि सक्रियता देखाउन छोड्नुभएन उहाँले । उहाँ कहिले आफ्नै गाउँ काभ्रेको भुम्लु पुग्नुहुन्छ त कहिले चितवनको माडी पुगेर चेपाङ बस्तीको पुनःनिर्माणमा सहयोग जुटाउन लाग्नुहुन्छ ।

आफूलाई केहीको पनि लोभ नभएको तर समाजसेवा भने गरिरहने बताउँदै कुँवर भन्नुहुन्छ– ‘मलाई राजनीति गर्नु छैन, यही काम देखेर भोलि कसैले केही देला भन्ने पनि लागेको छैन, तर आफ्नो काम गर्न छोड्दिनँ ’ कुँवरले भन्नुभयो– ‘मानिसहरूले कुँवरले के स्वार्थले राहत बाँड्छ पनि भन्ने गरेका छन्, जवाफ सजिलो छ, जनताले राहत पाऊन् र कसैलाई पनि दुःख नपरोस् भन्ने हो ।’उहाँले दोस्रो चरणको लकडाउनमा ९औं चरणमा गरी पाँच सय २५ परिवारलाई राहत बाँडिसक्नुभएको छ । कोरोनाको पहिलो लहरमा २७ चरणमा गरी १७ सय ५० परि।वारलाई राहतस्वरूप चामल, दाल, नुन, तेललगायतका सामग्री बाँडिसकेको उहाँले बताउनुभयो ।व्यवसायी कुँवरलाई व्यापार व्यवसाय संकटमा परेको र दैनिकीसमेत चलाउन धौधौ परेको थाहा छ, तर त्योभन्दा बढी जनतालाई पीडा छ भन्ने बुझेर केही दिनअघि भुम्लु पुगेर पाँच सय ५० परिवारलाई पुग्ने साबुन, क्रिम, तेललगायतका सामग्री स्वास्थ्य चौकीलाई हस्तान्तरण गर्नुभयो ।

कोरोनाको बेला रगतको अभाव भएपछि रक्तदान अभियान पनि चलाउनुभयो । हजुरलाई नमस्ते ट्रेड लिंकका सञ्चालक, नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघका निवर्तमान अध्यक्ष, चक्रपथ सफाइ अभियानका प्रमुख उहाँको समाजसेवाको योगदानलाई सबैले उच्च मूल्याङ्कन गरेका छन् ।‘कोरोनाको खतरा मलाई पनि छ तर त्यसो भन्दैमा डरले घरभित्र बसिनँ, अरू पीडितहरूको सेवामा नै लागिरहेँ’, उहाँले भन्नुभयो– ‘मन बहलाउन कहिले ड्रममाथि चढेर नाच्छु त कहिले अनेक गन्थनमन्थन गीत गाएर मनलाई आनन्दित बनाउँछु ।’ कोरोनाको दोस्रो लहर शुरू हुँदा मानिसले अक्सिजन नपाएका बेला अक्सिनसमेत व्यवस्थापन गर्न लागिपरेका कुँवरल विभिन्न ठाउँमा लुकाइएका अक्सिजन सिलिन्डर खोजेर कतिपय अस्पताल र व्यक्तिलाई समेत मापदण्ड बनाएर बाँडिसक्नुभएको छ ।‘राहत बाँड्न सक्नेगरी मेरो पनि प्रशस्तै सम्पत्ति छैन तर मेरो मन ठूलो छ, यसमा नै गर्व गर्दछु’, उहाँले भन्नुभयो– ‘यो असहज अवस्थामा एकले अर्कालाई सहयोग गरेर यो समस्याको निकास दिन लाग्नुपर्छ ।

सरकारले गर्नुपर्ने काम आफूले गरेको कुँवरले दाबी गर्दै भन्नुभयो– ‘सरकारसँग स्रोत छ, तर त्यसलाई जनताले सदुपयोग गर्न पाएका छैनन्, मैले गरेजस्तो मात्र सरकारले गर्ने हो भने कुनै पनि नागरिकले दुःख महसुस गर्न पाउँदैनन् ।उहाँले लकडाउन रहेसम्म राहत बाँडिरहने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । धेरैजसो राहत वितरण आफ्नै घरमा बोलाएर गर्ने कुँवरले फरक क्षमता भएका, अपांगता भएका, दृष्टिविहीन र यस्तै समस्यामा परेकालाई घरमै पुगेर पनि राहत उपलब्ध गराएको बताउनुभयो ।

९० डस्टविन वितरण
नागार्जुन नगरपालिका स्वच्छ र सफा बनाउन जनचेतना दिने उद्देश्यले वडा नं. ४, ५ र ६ मा डस्टविन वितरण गरिएको छ । परीक्षणस्वरूप ती वडाका केही समूहमा फोहोर व्यवस्थापन गर्न ९० वटा ठूला डस्टविन वितरण गरिएको छ ।वडा नं. ४ मा एक कार्यक्रम गरी ती डस्टविन १५ महिला समूहलाई ६ वटाका दरले वितरण गरिएको नागरिक समाज र परिवर्तनका अध्यक्ष क्षितिज सापकोटाले बताउनुभयो । नगरपालिकाको सहयोगमा ती डस्टविन वितरण गरिएको सापकोटाले जानकारी दिनुभयो ।नगरप्रमुख मोहनबहादुर बस्नेतले परीक्षण सफल भएमा नगरपालिकाभरिका सबै ठाउँमा वितरण गरिने बताउनुभयो । आवश्यकताका आधारमा अन्य समूहमा पनि डस्टविन वितरण गरिने बताइएको छ ।