माथिल्लो तामाकोशी यसै साता राष्ट्रिय प्रणालीमा जोडिन सक्ने


नेपाल समाचारपत्र, काठमाडौं । 

राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना सम्भवत यसै साता राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएको छ । असार १९ गतेसम्ममा आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रणालीमा जोड्ने तयारी गरेको हो ।

आयोजनाले एक सूचना प्रकाशित गर्दै माथिल्लो तामाकोशी जलविद्युत् आयोजनालाई राष्ट्रिय प्रसारण प्रणालीमा जोड्नका लागि असार १३ गतेदेखि १९ गतेसम्म खिम्ति लामो साँघु १३२ केभी प्रसारण लाइन बन्द हुने उल्लेख गरेको छ । आयोजनामा अहिले सुरुङ, बाँध तथा अन्य उपकरणको परीक्षण कार्य हुँदै आएको छ । आयोजनाबाट पहिलो चरणमा चैतभित्रै एउटा युनिट टर्वाइनबाट ७६ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको थियो । तर, आयोजनामा देखिएको केही प्राविधिक समस्याका कारण त्यो सफल भएन । यद्यपि, पहिलो युनिटको परीक्षण कार्य सम्पन्न भइसकेको आयोजनाले जनाएको छ । अहिले दुई वटा टर्वाइनबाट असारभित्रै १५२ मेगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने तयारी भएको छ । स्वदेशी लगानीमा निर्माण गरिएको ४५६ मेगावाट क्षमताको उक्त आयोजनामा ७६ मेगावाटका ६ वटा टर्वाइन जडान गरिएका छन् ।

१० वर्षअघि शिलान्यास भएको सो आयोजनाको शुरुआती लागत ३५ अर्ब रुपियाँ अनुमान गरिएको थियो । तर, भूकम्प, नाकाबन्दी, कोरोना महामारीलगायत विपद्का साथै आयोजनाको ठेकेदार कम्पनीको लापबाहीका कारण आयोजनाको निर्माण अवधि लम्बिँदै गएको छ । जसका कारण आयोजनाको लगात पनि बढेर ८० अर्ब रुपियाँभन्दा बढी पुगेको छ । निर्माण अवधि लम्बिँदै जाँदा आयोजनाको ऋणको ब्याज पनि उच्च भएको छ । साथै अमेरिकी डलरमा भएको वृद्धिका कारण उपकरणको मूल्य बढ्दासमेत लागत बढ्न पुगेको छ । आयोजनामा आईपीओमार्फत् सर्वसाधारणबाहेक नेपाल विद्युत् प्राधिकरण, नेपाल टेलिकम, नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोषलगायतका संस्थाले लगानी रहेको छ ।