रहिनन् बिकट गाउँकी अधिकारकर्मी


हेटौंडा, (नेस) ।

कोरोनाका कारण जिल्ला समन्वय समिति मकवानपुरकी सदस्य सानीकान्छी स्याङ्तानको ५८ वर्ष उमेरमा निधन भएको छ । बिकट गाउँमा सयौं महिलाको जीवन सहज बनाउन उहाँले गाउँघरमा ‘अधिकारकर्मी’ को भूमिका निर्वाह गर्नुभएको थियो ।

एउटा सामान्य तामाङ परिवारमा जन्मेर हुर्कनुभएकी उहाँको जीवन कहानी अरुका लागि सदैंव प्रेरणाको स्रोत बनेको थियो । बिकट गाउँमा हुने हरेक तालिममा महिला नेतृत्वको सवाल उठाउँदा सहभागीले उहाँकै जीवनकथा सुनाउथे ।सामान्य गृहिणी जीवन बिताइरहनु भएकी उहाँले गाउँमै प्रौढकक्षा पढ्नुभयो, अक्षर चिन्नुभयो । त्यसपछि गाउँमा जुवातास र जाँडरक्सी, कुलत नियन्त्रण अभियानमा लागेसँगै समग्ररुपमा साबिक सरिखेत गाविसको महिलाको नेतृत्व गर्दै महिला सहकारीको अध्यक्ष हुनुभएको थियो ।

महिलाहिंसा, लैंगिकतामा आधारित हिंसाविरुद्ध डटेर लड्नुभयो । बिकट राक्सिराङ गाउँपालिका वडा नम्बर–३ बाट महिला सदस्य निर्वाचित भएर जिल्ला समन्वय समितिको सदस्यमा नेकपा एमालेबाट निर्वाचित उहाँ गाउँमा एक असल, इमान्दार, धैर्यताकी खानीका रुपमा परिचित हुनुहुन्थ्यो । ‘खासगरि न्यायप्रेमी समाज रुपान्तरणका पक्षधरलाई ठूलो क्षति भएको छ,’ उहाँलाई नजिकबाट चिन्ने सञ्चारकर्मी शिवकुमार काशी भन्नुहुन्छ ।