कार्यपालिकाबाट स्वीकृत नगरिकनै ललितपुर महानगरको नीति तथा कार्यक्रम



सुनील महर्जन, ललितपुर। 

ललितपुर महानगरपालिकाले कार्यपालिकाको बैठकबाट पारित नगरीे आर्थिक वर्ष २०७८-७९ को प्रस्तावित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।ललितपुरको शंखमूलमा बिहीबार आयोजित छैटौं नगरसभामा मेयर चिरिबाबु महर्जनले प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । तर, कार्यपालिका बैठकबाट नीति तथा कार्यक्रम स्वीकृत नै नगरी नगरसभामा प्रस्तुत गरिएपछि सो नगरसभाको कानुनी वैधतामाथि प्रश्न उठाउँदै ९२ जना नगरसभा सदस्यले बहिष्कार गरेका थिए ।

बहिष्कार गर्ने नगरसभा सदस्यहरूमा ३९ जना कार्यपालिका सदस्यमध्ये २६ जना र ६६ जना नगरसभा सदस्य रहेका छन् । उनीहरू नेकपा (एमाले) र माओवादी केन्द्रबाट निर्वाचित भएका हुन् ।मेयरले ऐनविपरीत बलमिच्याइँ गरी एकतर्फी ढंगले नगरसभा बोलाइएकाले बहिष्कार गर्नुपरेको भन्दै कार्यपालिका सदस्य श्रीगोपाल महर्जनले विज्ञप्ति नै जारी गर्नुभएको छ । महर्जनले अध्ययनकै क्रममा रहेको नीति तथा कार्यक्रम कार्यपालिकाबाट पारित नगरी सार्वजनिक गरी ऐनको मर्म र भावनामाथि प्रहार गरेको आरोप लगाउनुभयो । महानगरपालिका–३ का वडाअध्यक्षसमेत रहनुभएका संयोजनकर्ता महर्जनले जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘नगरसभाको अघिल्लो दिन मेयरले नीति तथा कार्यक्रमको मस्यौदा पढ्न दिए । आज पास गर्नुपर्ने निर्देशन दिइयो ।

कार्यपालिका सदस्यले पढ्दै नपढी कसरी पारित गर्ने ?’बिहान आठ बजे र दिउँसो गरी बुधबार दुई पटकसम्म कार्यपालिका बैठक बसेको थियो । मेयर महर्जनसमक्ष बहुमत कार्यपालिका सदस्यले छलफल नै नगरी नीति तथा कार्यक्रम कसरी पास गर्ने भन्दै प्रश्न तेस्र्याएर अनेक तर्कवितर्क गरेपछि बैठक समापन गरिएको वडा नं १५ का अध्यक्ष सुदर्शन मिश्रले बताउनुभयो ।नीति तथा कार्यक्रम पारित नभए पनि छलफल भएको जनाउँदै मेयर महर्जनले असार १० गतेभित्रमा ल्याउनुपर्ने समयसीमा रहेकाले कार्यक्रम सार्वजनिक गरिएको बताउनुभयो । स्थानीय तह सरकार सञ्चालन ऐन २०७४ को दफा ७१ को बजेट पेस र पारित गर्नेसम्बन्धी प्रावधानअन्तर्गत आगामी आर्थिक वर्षको राजस्व र व्यय (बजेट) को अनुमान कार्यपालिकाबाट स्वीकृत गराई असार १० गतेभित्र नगरसभामा पेस गर्नुपर्ने उल्लेख गरिएको छ ।

नीति तथा कार्यक्रम सार्वजनिक गरेलगतै नगरसभाको गणपूरक संख्या नभएको भन्दै बैठक तीन दिनका लागि स्थगित गरिएको पनि मेयर महर्जनले घोषणा गर्नुभयो । कुल नगरसभा सदस्य एक सय ३५ जनामध्ये नेपाली कांग्रेसबाट निर्वाचित ४३ जना नगरसभा सदस्य मात्र कार्यक्रममा उपस्थित थिए ।यसैबीच विभिन्न शीर्षकमा दुई सय ६९ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर महर्जनले त्यसका लागि बजेटको सीमा पाँच अर्ब ५५ करोड ५५ लाख, ५५ हजार रुपियाँ प्रस्ताव गर्नुभयो । ‘ललितपुर नगर स्वस्थ समुन्नत सांस्कृतिक शहर’ भन्ने दीर्घकालीन सोच, कोरोना संक्रमण, संविधान, ऐनलाई मध्यनजर गरी १५ क्षेत्रलाई प्राथमिकतामा राखिएको पनि मेयर महर्जनले बताउनुभयो ।कोभिड विशेषअन्तर्गत १२ वटा नीति तथा कार्यक्रमहरू प्रस्ताव गरिएको छ ।

त्यसमध्ये कोरोना संक्रमणबाट मृत्यु भएका परिवारलाई र अस्पताल भर्ना भएकालाई आर्थिक सहयोग गर्ने भनिएको छ । त्यसैगरी फ्रन्टलाइन खटिनेलाई सरकारले तोकेबमोजिम भत्ताको व्यवस्था गर्नेछ । त्यस्तै आइसोलेसनका लागि आवश्यक जनशक्ति करारमा लिइने, सबैलाई निःशुल्क खोपको व्यवस्था गर्ने, कोभिड बीमा सञ्चालन गर्ने कार्यक्रम ल्याइएको छ ।त्यस्तै पूर्वाधार विकासअन्तर्गत १५ बुँदे कार्यक्रम ल्याइएको छ । कुपोण्डोलदेखि पुल्चोकसम्म र चक्रपथको विभिन्न स्थानमा फ्लाईओभर र इन्टरसेक्सन फ्लाईओभर अध्ययन सिफारिसबमोजिम काम अघि बढाउने भनिएको छ । पाटन दरबार क्षेत्रदेखि शंखमूलसम्म टंकलाइन प्रोजेक्टलाई निरन्तरता दिइने पनि कार्यक्रममा उल्लेख गरिएको छ । त्यस्तै सडक कालोपत्र गर्दा असफाल्ट कंक्रिटको मोटाइ एक दशमलव पाँच इन्च हुनैपर्ने नीतिलाई निरन्तरता दिइनेछ । ललितपुरमा पर्ने चक्रपथ खण्डमा सार्वजनिक शौचालय र सार्वजनिक स्थल उपलब्ध भएसम्म हरियाली पार्क निर्माण गर्ने भनिएको छ ।

कालोपत्र भएका सडकमा सामान्यता दुई वर्षसम्म खन्न स्वीकृति नदिने, विशेष कारणवश खन्न परेमा प्रक्रिया अपनाउनुपर्ने, फुटपाथ निर्माण कार्यलाई निरन्तरता दिइने पनि कार्यक्रममा उल्लेख गरिएको छ ।भवन तथा शहरी विकासअन्तर्गत २७ बुँदे नीतिमा सार्वजनिक स्थानमा सीसीटिभी जडान गरिने, नक्सापास नगरी वा नक्सापासभन्दा फरक गरी निर्माण भइसकेका भवनहरूको अभिलेखीकरणका लागि कार्यविधि बनाएर व्यवस्थित गरिने, विद्युतीय नक्सापास प्रक्रिया लागू गरिने विषयहरू समेटिएको छ । भूकम्प लाभग्राही सूचीमा परेका नगरबासीलाई तीन हजार वर्गफिटसम्मको क्षेत्रफलको नक्सापास दस्तुरमा शतप्रतिशत छुटको सुविधा उपलब्ध गराइने भनिएको छ ।खानेपानी तथा सिँचाइसम्बन्धी पाँच बुँदेमा टीकाभैरव राजकुलो एक र दुईलाई महानगर चक्रपथभित्र ल्याउन र कृषि योग्य जमिनमा सिँचाइ गर्न योजना सञ्चालन गरिने र राजकुलोहरूको संरक्षणलाई निरन्तरता दिने उल्लेख गरिएको छ ।

मकवानपुरको सिस्नेरीबाट खानेपानी ल्याउन महालक्ष्मी र गोदावरी नगरपालिको समन्वयमा सम्भाव्यता अध्यन गर्ने पनि भनिएको छ ।११ बुँदे सम्पदा नीतिअन्तर्गत वडा नं आठको भीमसेन मन्दिर बालकुमारी मन्दिर, खोकनाको रुद्रायणी मन्दिर, पाटन दरबार क्षेत्रको तलेजु मन्दिर, भष्मेश्वर महादेव मन्दिर, सन्तानेश्वर मन्दिर, वडा नं १९ को मच्छिन्द्रनाथको मन्दिरको पुनर्निर्माण गर्ने कार्यक्रम ल्याइएको छ । कार्तिक नाच, रुद्रायणी नाच, हरिसिद्धि नाच, पायो जात्रा, अष्टमातृका नाचका लागि अक्षयकोष स्थापना गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।

पर्यटन नीतिअन्तर्गत सम्पदा मार्ग बनाउने, पर्यटन गुरुयोजना तयार गर्ने, होमस्टे प्रवद्र्धन, विश्वकला नगरीको घोषणाअनुरुप हस्तकलाको प्रवद्र्धन र बजारीकरण गर्ने, हस्तकला सामग्री प्रदर्शन कक्ष निर्माण गर्नेलगायत पाँचबुँदे नीति तथा कार्यक्रम ल्याइएको छ ।त्यस्तै, सामाजिक विकासअन्तर्गत लैंगिक समानता र समावेशीकरण नीतिअन्तर्गत १५ बँुदे नीति तथा कार्यक्रम ल्याइएको छ । जसअन्तर्गत युवा र महिलाको सबलीकरण, दलित तथा जनजातिको परम्परागत सीपलाई आधुनिकरण गर्दै स्वरोजगारमुखी बनाउने, ए, बी र सी डिभिजन फुटबल टिमका खेलाडीहरूलाई प्रोत्साहित गर्ने कार्यक्रम ल्याइएको छ ।

आधारभूत शिक्षाअन्तर्गत २८ बुँदे कार्यक्रममा महानगरभित्रका सामुदायिक विद्यालयमा नेपाल भाषाको पठनपाठन सञ्चालन गर्न शिक्षकदेखि जनशक्तिको व्यवस्थापन गरिने, नैतिक शिक्षा पठनपाठनमा विशेष जोड दिइने, सत्यमोहन जोशी एकेडमी स्थापना गरिनेलगायतका कार्यक्रम ल्याइएको छ ।त्यसैगरी, जनस्वास्थ्य नीतिअन्र्तगत १९ बुँदे कार्यक्रममा विपन्न परिवारलाई ७० प्रकारका औषधि वितरण गरिने, वडाहरूमा स्वास्थ्य संरचनाको विस्तार गर्ने, स्वास्थ्य केन्द्रमा पूर्वाधारको व्यवस्था गर्ने, राष्ट्रिय स्वास्थ्य बिमा सञ्चालन गर्नेलगायतका कार्यक्रम नीति तथा कार्यक्रममा प्रस्तावित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्