संवैधानिक सुनुवाइबिनै धमाधम नियुक्ति


विकास भट्टराई, काठमाडौं । 

संवैधानिक सुनुवाइविना नै विभिन्न संवैधानिक निकायमा पदाधिकारी नियुक्त भएका छन् । नेपालको संविधानमा संवैधानिक निकायहरूमा नियुक्ति अघि संसदीय सुनुवाइ गर्नुपर्ने व्यवस्था भए पनि सिफारिस भएको ४५ दिनसम्म पनि सुनुवाइ हुन नसकेमा सम्बन्धित नियमावलीमा उनीहरूलाई नियुक्त गर्न सकिने व्यवस्था छ ।

सोही व्यवस्थाबमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले ४५ दिनअघि विभिन्न संवैधानिक निकायमा सिफारिस भएकालाई बिहीबार नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयबाट थाहा भएको छ ।संविधानको धारा दुई सय ९२ मा संवैधानिक परिषद्को सिफारिसमा नियुक्त हुने प्रधानन्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, न्यायपरिषद्का सदस्य, संवैधानिक निकायका प्रमुख वा पदाधिकारी र राजदूतको पदमा नियुक्त हुनुअघि संघीय कानुनबमोजिम संसदीय सुनुवाइ हुनुपर्ने उल्लेख गरिएको छ ।संविधानमा ती पदाधिकारी नियुक्त हुनुअघि संसदीय सुनुवाइ हुनुपर्ने अनिवार्य गरिएको भए पनि संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावलीको नियम २६ को उपनियम (२) मा सिफारिस भई आएको नाममा ४५ दिनभित्र सुनुवाइ गरी त्यसको जानकारी सम्बन्धित निकायमा सुनुवाइ समितिले दिनुपर्ने व्यवस्था छ । उक्त समयभित्र सुनुवाइ हुन नसकेमा ४५ दिनपछि सम्बन्धित व्यक्तिलाई सिफारिस भएको पदमा नियुक्त गर्न बाटो खुला हुने नियमावलीमा उल्लेख छ ।

सो प्रावधानबमोजिम अख्तियारमा हरि पौडेल र सुमित्रा श्रेष्ठलाई आयुक्तमा नियुक्त गरिएको हो । त्यसैगरी लोकसेवा आयोगमा अध्यक्षसहित पाँच पदाधिकारी नियुक्त भएका छन् । आयोगको अध्यक्षमा माधवप्रसाद रेग्मी र सदस्यहरूमा माधव बेल्वासे, वीरबहादुर राई, दिनेश सिलवाल र मञ्जुकुमारी गुरुङ नियुक्त भएका हुन् ।निर्वाचन आयोगमा सगुनशमशेर जबरा पनि निर्वाचन आयुक्तमा नियुक्त हुनुभएको छ । राष्ट्रपतिको कार्यालयबाट थाहा भएअनुसार राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सदस्यमा विपीनराज निरौला चयन हुनुभएको छ ।राष्ट्रिय महिला आयोगको सदस्यमा जया घिमिरे, सावित्रीकुमारी शर्मा र सुन्दर पुर्कोटी नियुक्त हुनुभएको छ । राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा रामकृष्ण तिमिल्सेना र सदस्यहरूमा पुष्पराज तिमिल्सिना तथा मानप्रसाद खत्री नियुक्त भएको बताइएको छ ।

आदिवासी जनजाति आयोगको सदस्यमा सूर्यबहादुर गुरुङ, मधेसी आयोगको सदस्यमा आभा कुमारी, थारू आयोगको सदस्यमा उमाशंकरप्रसाद चौधरी र शान्ति मोदी तथा मुस्लिम आयोगको सदस्यमा मोहमद समशुलहक नियुक्त हुनुभएको छ ।राष्ट्रपतिको कार्यालयबाट जारी गरिएको विज्ञप्तिमा संवैधानिक परिषद्को सिफारिसमा विभिन्न व्यक्तिलाई विभिन्न पदमा नियुक्त गरिएको विषय उल्लेख गरिएको छ ।सरकारले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ मा अध्यादेशमार्फत संशोधन गरी संवैधानिक परिषद्मा तीन जना पदाधिकारी भए पनि बैठक बस्न मिल्ने गरी व्यवस्था गरेको थियो । सोही व्यवस्थाबमोजिम संवैधानिक परिषद्को बैठक बसी ४५ दिनअघि विभिन्न संवैधानिक निकायमा विभिन्न व्यक्तिलाई सिफारिस गरिएको थियो ।हाल प्रतिनिधि सभा नभएकाले सुनुवाइ समिति पनि रहेको छैन । नियमावलीबमोजिम सिफारिस भएको ४५ दिन पूरा भएपछि राष्ट्रपतिले उनीहरूलाई नियुक्त गर्नुभएको हो ।

सरकारले अध्यादेशमार्फत संवैधानिक परिषद्सम्बन्धी ऐन संशोधन गरेको भनी दायर भएको रिट निवेदन हालसम्म सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेको छ । त्यस्तो रिट निवेदन विचाराधीन हुँँदाहुँदै पनि त्यसलाई वास्तै नगरी राष्ट्रपतिबाट नियुक्त गरिनु अदालतको अवहेलना हुने कानुनविद्हरूले बताएका छन् । रिट निवेदक वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अदालतमा सो विषय विचाराधीन हुँदाहुँदै राष्ट्रपतिबाट नियुक्त गरिनु भनेको अदालतको अवहेलना हुने उल्लेख गर्नुभयो ।