कर्णाली नदीको बाढीमा फसेका पाँचको उद्धार


विष्णु तिमिल्सिना, बर्दिया । 

बर्दियाको पश्चिम भाग कैलालीसँग सीमा जोडिएको कर्णाली नदीको बिच टापुमा फसेका तीन जना र उद्धारकर्मी दुई जना गरी पाँच जनालाई सकुशल उद्धार गर्न सुरक्षाकर्मी सफल भएका छन ।

राजापुर नगरपालिका वार्ड न १ दौलतपुर घाटस्थित कर्णाली नदीमा पानिको सतह बढी भएर बिच टापुमा फसेका तीन जनालाई सुरक्षाकर्मीको टोलीले खोज तलास गरी मोटरबोटको माध्यमबाट उद्धार गरी उपचारको लागि नेपाल रेडक्रसको प्राथमिक उपचार टोलीलाई जिम्मा लगाएको थियो । प्राथमिक उपचार टोलीले प्राथमिक उपचार पछि थप उपचारका लागी एम्वुलेन्समार्फत अस्पताल पठाएको छ ।घाइतेमध्ये एक जनाको खुट्टामा चोट लागेको, एक जनालाई सर्पले टोकेको र एक जना सामान्य अवस्थाका रहेका थिए । त्यसै गरी, उद्धार गर्न गएको सुरक्षा टोलीमध्येकै दुई जना नदीमा खसेर बग्दाको अवस्थामा उद्धार टोलीले उनीहरूलाई सकुसल उद्धार गरेको थियो ।माथि उल्लेखित घटना वास्तविक नभई बाढीको बेला हुन सक्ने खतरा र त्यसको प्रभावकारी खोज तथा उद्धारमा प्रयोग हुने उद्धार सामग्री र जनशक्तिको व्यवस्थापन तथा प्रभावकारी समन्वयका लागि मनसुन पूर्व तयारीका लागि बाढी कृत्रिम अभ्यास तालिमअन्तर्गत गरिएको अभ्यास हो । विपद व्यवस्थापन समितिको आयोजना र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा तथा कमैया महिला जागरण समाजको सहकार्यमा उक्त अभ्यास कार्यक्रम गरिएको हो ।

उक्त कृत्रिम घटना अभ्यासमा उद्धार तथा खोज तलास कार्यमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीले भाग लिएका थिए । त्यसै गरी प्राथमिक उपचार केन्द्रको उपचारको भूमिकामा नेपाल रेडक्रसका स्यव सेवकहरूको सहभागी रहेको थियो भने व्यवस्थापनको सहकार्य कमैया महिला जागरण समाजको सहभागीता रहेको थियो ।प्रमुख जिल्ला अधिकारी एवम जिल्ला विपद् व्यवस्थापन समिति बर्दियाका अध्यक्ष सन्तबहादुर सुनारले बर्दिया जिल्ला अहिलेको तीनवटा प्रदेश र पहिलेको चार वटा अञ्चलको पानी थेग्ने जिल्ला भएकोले बाढीको समस्या कुनै न कुनै रूपमा आइरहने बताउँदै बाढी आएका उपयुक्त समयमा उपयुक्त सीप दक्षता र प्रविधिको उपयुक्त व्यवस्थापन गरी सही समयमा सही व्यक्तिको उपयोग गर्नु पर्ने भएकाले मन बचन र कर्मले काम गर्नुपर्ने हुँदा यस्तो अभ्यासले काम गर्नेहरूलाई ऊर्जा प्रदान गर्ने बताउनुभयो ।

नेपाली सेनाका प्रमुख सेनानी नहकुल थापाले आपूmहरू जनताको साथमा रहेको बताउँदै जनधनको क्षति कम गर्न जुनसुकै बेला पनि तयारी अवस्थामा रहेको बताउनुभयो । साथै उहाले यो क्षेत्र खतराको अवस्थामा रहेकाले यस किसिमको अभ्यासले भोलिका दिनमा समस्या समधान गर्नमा मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत गौरीलाल बुढाथोकीले विपद्को समयमा मुख्य नौवटा कार्यहरू हुने बताउँदै त्यसअनुरूप जिल्ला नौवटा कलस्टर गठन गरिएको जानकारी दिँदै जसमध्ये खोज तथा उद्धार र सूचना तथा समन्वयको कार्य पहिलो चरणमा हुने हुँदा आजको अभ्यासमा दुईवटा कलस्टरको अभ्यास गरिएको बताउनुभयो ।राजापुर नगरपालिकाका प्रमुख शिवप्रसाद थारूले विपदको समयमा नेपाली सेना र प्रहरीले विगतमा धेरै सहयोग गरेको र भोलिका दिनमा पनि आइपर्ने समस्यालाई मद्दत गर्न यो अभ्यासले थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममो सञ्चालन जिल्ला प्रशासन कार्यालयका विपद् व्यवस्थापन सम्पर्क अधिकृत नारायण ढकालले गर्नुभएको थियो ।