एसओएसका संस्थापकको जन्म जयन्ती मनाइयो


नेपाल समाचारपत्र, काठमाडौं

एसओएस बालग्राम नेपालले एसओएस बालग्राम अन्तर्राष्ट्रियका संस्थापक प्रा.डा.माइनरको १०२ औं जन्मजयन्ती तथा ३५औं अन्तर्राष्ट्रिय एसओएस दिवस मनाएको छ ।नेपालभरि रहेका १० वटा बालग्राममा त्यहाँ रहेका बालबालिका र उनीहरूलाई स्याहार्ने काकी र आमा मिलेर विभिन्न कार्यक्रमको आयोजना गरी सो दिवस मनाइएको एसओएस बालग्राम नेपालका निर्देशक सीताराम सुवेदीले बताउनुभयो । सो अवसरमा १० वटै बालग्रामका किशोरकिशोरी तथा युवायुवतीबीच वक्तृत्वकला, चित्रकलालगायतका प्रतियोगिता आयोजना गरिनुका साथै सानोठिमीको बालग्रामका आमा र काकीहरूद्वारा नृत्य प्रदर्शन गरिएको थियो ।

लकडाउनका कारण भर्चुअलरूपमा आयोजना गरिएको अन्तर्राष्ट्रिय एसओएस दिवसलाई सम्बोधन गर्दै एसओएस बालग्राम नेपालका राष्ट्रिय निर्देशक ईश्वरीप्रसाद शर्माले प्रा.डा. हर्मन माइनरले बाबुआमा र घरबारविहीन बालबालिकाको संरक्षणका लागि अघि सारेको बालग्रामको अवधारणाबारे चर्चा गर्दै त्यस्ता बालबालिकाप्रति समर्पित भएर काम गर्नुपर्नेमा जोड दिनुभयो ।एसओएस बालग्राम नेपालका सहायक राष्ट्रिय निर्देशक डा. गंगाबहादुर गुरुङले स्वर्गीय माइनरको योगदानको चर्चा गर्दै बालबालिकाको सर्वाङ्गीण विकासका लागि सबैले चासो राख्नुपर्ने बताउनुभयो ।अस्ट्रियाको अल्बरस्वेन्डेमा सन् १९१९ को जुन २३ का दिन जन्मेका प्रा.डा.हर्मन माइनरले दोस्रो विश्वयुद्धमा बाबुआमा र घरबार गुमाएका बालबालिकालाई पारिवारिक मायाका साथ संरक्षण गर्ने उद्देश्यले एसओएस बालग्रामको स्थापना गर्नुभएको थियो । बालबालिका र आमासहितको अलग अलग घर र त्यस्ता घरहरू रहेको सानो गाउँलाई ‘एसओएस बालग्राम’ भनिन्छ ।
सन् १९८६ को २६ अप्रिलमा अस्ट्रियाको इन्स्ब्रुकमा उहाँको निधन भएको थियो । उहाँको निधनको पछिल्लो वर्षदेखि विश्वव्यापीरूपमा अन्तर्राष्ट्रिय एसओएस दिवस मनाइने गरिएको हो ।

हाल विश्वका एक सय ३६ वटा मुलुकमा एसओएस बालग्राम सञ्चालमा छन् भने नेपालमा विभिन्न स्थानमा गरी १० वटा एसओएस बालग्राम सञ्चालनमा रहेको छ । जसमा हाल एक हजार दुई सय ६० बालबालिकाले गाँसबास, कपासका साथै शिक्षादीक्षा प्राप्त गरिरहेका छन् ।