शेयर कारोबारीलाई एकै दिन खर्ब नोक्सान



नेपाल समाचारपत्र, काठमाडौं  ।

 शेयर बजारका लगानीकर्ताको आत्मबल कमजोर हुँदा नेपाल स्टक एक्सचेन्ज नेप्से  परिसूचकमा उच्च गिरावट आएको छ । नेपाल धितोपत्र बोर्डले बजारमा चलेका विभिन्न ५१ वटा कम्पनीलाई जोखिमयुक्तको सूचीमा राखेपछि लगानीकर्ताले आत्मबल गुमाउँदा बजार निरन्तर ओरालो यात्रामा रहेको छ । निरन्तर गिरावट आउँदा शेयर बजारका लगानीकर्ताले पछिल्लो एक सातामा पछिल्लो एक सातामा पौने तीन खर्ब रुपियाँ गुमाएका छन् । धितोपत्रको निर्णयपछि मात्रै करिब साढे खर्ब रुपियाँ नोक्सानी भएको छ ।

सोमबारमात्रै करिब एक खर्ब रुपियाँ लगानीकर्ताको गुमेको छ । सोमबार नेप्से परिसूचक ७१ दशमलव शून्य ६ बिन्दुले घटेर २८३४ दशमलव ४० मा झरेको छ । यससँगै लगानीकर्ताको सम्पत्ति ९८ अर्ब रुपियाँले घटेको छ । अघिल्लो दिन आइतबार नेप्सेमा सूचीकृत कम्पनीहरूको कुल बजार पुँजीकरण ४० खर्ब ३६ अर्ब ३९ करोड बराबर रहेकोमा सोमबार घटेर ३९ खर्ब ३७ अर्ब ६७ करोड ८१ लाखमा सीमित भएको छ । यसअघि नेप्से जेठ ३१ गते ३ हजारभन्दा माथिको बिन्दु पुग्दा बजार पुँजीकरण ४२ खर्ब १६ अर्ब रुपियाँभन्दा माथि रहेको थियो । जुन नेपालको कुल गार्हस्थ्य उत्पादन जीडीपीभन्दा पनि बढी हो । धितोपत्र बोर्डको कदमपछि पाँच दिनको अवधिमा नेप्से झण्डै दुई सय अंकले घटेको छ । एकातिर, लगानीकर्ताले धितोपत्रको अव्यवहारिक कदमका कारण ‘प्यानिक सेल’ गर्दा बजारमा गिरावट आएको छ । अर्कोतिर, बैंकिङ प्रणालीमा तरलता अभाव बढ्नुका साथै ब्याजदर परिवर्तन र आर्थिक वर्षको अन्त्यमा हिसाबकिताब राफसाफ गर्नुपर्ने जस्ता कारणले नेप्सेको गिरावटमा मद्दत पुगेको छ ।

नेप्से परिसूचकमा उच्च गिरावट देखिए पनि कारोबार रकम भने त्यो अनुपातमा घटेको छैन । सोमबार कुल २२७ कम्पनीको २ करोड २५ लाख २२ हजार कित्ता शेयर ११ अर्ब ६१ करोड ९० लाख ३५ हजार रुपियाँमा किनबेच भएको छ । यो अन्य दिनको तुलनामा कम भए पनि कारोबार रकम भने औसत नै रहेको छ । यस दिन कारोबार भएका १३ वटै समूहको परिसूचक ओरालो लागेका छन् । जसमध्ये बैंकिङ समूह ३४ दशमलव २२, व्यापार समूह २९ दशमलव ६३, होटल तथा पर्यटन समूह १६५ दशमलव ८३, विकास बैंक समूह २१० दशमलव २१, जलविद्युत् समूह १५० दशमलव २४ अंकले घटेका छन् ।

त्यसैगरी वित्त समूह १२० दशमलव २२, निर्जीवन बीमा समूह ४२९ दशमलव ६३, उत्पादन समूह १७१ दशमलव १९, अन्य समूह ५४ दशमलव ६४, लघुवित्त समूह १०५, जीवन बीमा समूह ४५१ द्यशमलव ११, सामूहिक लगानी कोष समूह शून्य दशमलव २१ र लगानी समूह शून्य दशमलव ५२ अंकले घटेको नेप्सेले जनाएको छ । कारोबारका आधारमा नेपाल पुनर्बीमा कम्पनी पहिलो स्थानमा रहेको छ । सो कम्पनीको १ अर्ब ३० करोड ६१ लाख, एचआईडीसीएल ३१ करोड ७ लाख, नागरिक लगानी कोषको २९ करोड ६१ लाख, नेसनल हाइड्रोपावर २८ करोड ४४ लाख र हिमालयन डिस्टिलरीको २४ करोड ८७ लाख ४६ हजार रुपियाँको कारोबार भएको छ ।

समग्र परिसूचकमा उच्च अंकको गिरावट आउँदा पनि नारायणी डेभलपमेन्ट बैंकको शेयर मूल्य सकारात्मक सर्किट लेवलमा शेयर मूल्य बढेको छ । त्यस्तै एचआईडीसीएल, एनबीबीएल डिवेञ्चर, एसबीएल डिवेञ्चर दुई र नबिल बैंकको ऋणपत्र २०८२ का लगानीकर्ताले भने कमाएका छन् । तर, पोखरा फाइनान्स, यूनिभर्सल पावर, यूनियन हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर र लिवर्टी इनर्जीका लगानीकर्ताले भने अन्य कम्पनीका लगानीकर्ताले भन्दा धेरै गुमाएका छन् ।

एकातिर, लगानीकर्ताले धितोपत्रको अव्यवहारिक कदमका कारण ‘प्यानिक सेल’ गर्दा बजारमा गिरावट आएको छ । अर्कोतिर, बैंकिङ प्रणालीमा तरलता अभाव बढ्नुका साथै ब्याजदर परिवर्तन र आर्थिक वर्षको अन्त्यमा हिसाबकिताब राफसाफ गर्नुपर्ने जस्ता कारणले नेप्सेको गिरावटमा मद्दत पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्