हत्या भएको भन्दै नगरपालिका घेराउ

अस्मिता हत्या प्रकरण


रामधामी, डडेल्धुरा । 

कोरोनाविरुद्धको खोप बोकेर जोगबुडा अस्पताल आएकी परशुराम नगरपालिका–८ स्थित जमेरानी आधारभूत स्वास्थ्य सेवा केन्द्रकी कार्यालय सहयोगी अस्मिता धामीको हत्या भएको भन्दै स्थानीयले परशुराम नगरपालिका घेराउ गरेका छन् ।

२६ वर्षीया कार्यालय सहयोगी अस्मिताको घरबाट हिँडेको चार दिनपश्चात्बीभत्स अवस्थामा जंगलमा शनिबार शव भेटिएको थियो । शवभेटिएको तीन दिनपछि सोमबार जोगबुडा अस्पतालमा शव परीक्षण गरिएको छ । शवको पोस्टमार्टम रिपोर्टमा उनको बलात्कार र हत्याभएको भन्ने विषयमा कुनै तथ्य फेला नपरेको अनुसन्धानमा संलग्न उच्चपदस्थ प्रहरी अधिकारीले जानकारी दिएका छन् । अब उनको भिसेरा परीक्षण गरिने जनाएको छ ।

असार २ गते आधारभूत स्वास्थ्य एकाइ केन्द्र जमरानीबाट कोरोनाको बचत खोप र स्वास्थ्य सामग्रीलिएर जोगबुडा अस्पताल पु-याउन भनी निस्केकी अस्मिताको शव शनिबार परशुराम नगरपालिका–९ को हट्वानी सामुदायिक वनमा फेला परेको थियो ।जोगबुडा अस्पतालमा विज्ञ चिकित्सक नभएको भन्दै शवको पोस्टमार्टममा ढिलाइ भएको हो । पोस्टमार्टममा ढिलाइ भएपछि सोमबार ठूलो संख्यामाआएका स्थानीयले परशुराम नगरपालिकाको कार्यालय घेराउगर्दै नगर प्रमुखभीम बहादुर साउदलाई ज्ञापनपत्र बुझाएका थिए । अस्मितको हत्यारा पत्तालगाई निष्पक्ष छानबिन गरेर हदैसम्मको कारबाही गरिनुपर्ने पीडित पक्षको माग छ ।

पीडित परिवारलाई उचित राहतको व्यवस्था गरिनुपर्ने, पीडित परिवारका एक जना सदस्यलाई रोजगारीको ग्यारेन्टी गरिनुपर्ने, परशुराम–८ को जमरानी आधारभूत स्वास्थ्यएकाइ केन्द्रको नाम परिवर्तन गरेर अस्मिता स्मृति आधारभूत स्वास्थ्यएकाइ केन्द्र नामकरण गरिनुपर्ने, मृतक अस्मिताकादुई छोरीको माध्यमिकतहसम्मको पठन–पाठनका लागि छात्रवृत्तिको ग्यारेन्टी गरिनुपर्ने र उनीहरूको उच्च शिक्षा निःशुल्क गरिनुपर्ने लगायतका माग पीडित पक्षले अघि सारेका छन् ।अस्मितालाई न्यायका लागि राखेको माग सहितको ज्ञापनपत्र बुझ्दै नगर प्रमुख साउदले मृतकको शवको पोस्टमार्टम भइसकेको र संघीय र प्रदेश प्रहरीको उच्चस्तरीय अनुसन्धान टोलीले घटनास्थलाको अनुसन्धान अघि बढाइसकेकाले दोषी उम्किन नसक्ने जिकिर गर्नुभयो । पीडित पक्षबाट अघि सारिएका अन्यमाग सम्बोधनका लागि नगरपालिका र आफूले व्यक्ति गत रूपमा पनि कुनै कसर बाँकी नराख्ने नगर प्रमुख साउदले बताउनुभयो ।

सो प्रकरणको अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालयले दुईवटा टोली परिचालन गरेको छ । घटनाको अनुसन्धानका लागि संघीय प्रहरी एकाइकार्यालय र प्रदेश प्रहरी कार्यालयबाट छुट्टाछुट्टै टोली खटाइएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक योगेन्द्र थापाले जानकारी दिनुभयो । शव भेटिए लगत्तै जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख डीएसपी महेन्द्र नेपालसहितको प्रहरी टोलीसमेत घटनास्थलमै अनुसन्धानमा संलग्न छ ।