पर्वत अस्पताल दोस्रो वर्ष पनि प्रदेशमै उत्कृष्ट

224
Shares

न्युज अफ नेपाल, पर्वत।  

गण्डकी प्रदेशका अस्पतालहरु मध्ये पर्वत अस्पताल यस वर्ष पनि उत्कृष्ठ भएको छ। यस अस्पताल गत आर्थिक वर्षमा उत्कृष्ट बनेको थियो।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशबाट हरेक वर्ष हुँदै आएको न्यूनतम सेवा मापदण्ड मूल्यांकनमा ११ जिल्लामध्ये सबैभन्दा बढी अंक पर्वत अस्पतालले प्राप्त गरेको छ। अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीका अनुसार सुशासन तथा व्यवस्थापन, उपचार सेवा र व्यवस्थापन तथा अस्पताल सहयोग सेवा गरी मुख्य तीन विषयमा मूल्यांकन हुने गरेको छ।

ती विषयमा केन्द्रित रहेर ६४७ वटा सूचक राखेर त्यसमा अंक प्रदान गरिन्छ। अघिल्लो वर्ष ७८ प्रतिशत अंकसहित प्रथम भएको पर्वत अस्पताल यस वर्ष ६५ प्रतिशत अंकसहित पुनः पहिलो बनेको हो। अस्पताल व्यवस्थापन समिति, स्वास्थ्यकर्मी र कर्मचारी सबैको सामूहिक बलबाट नै यस वर्ष पनि पहिलो भएको पहाडीको भनाइ छ।

अस्पतालको सुदृढीकरणका लागि तय गरिएका योजनाहरुमा प्रदेश सरकार, जनप्रतिनिधि तथा अन्य संघ संस्थाहरुको सहयोग र अस्पतालको सिङ्गो टिमको सक्रिय खटाइका कारण आएको नतिजाले अस्पतालको सेवा र सुविधालाई झनै प्रभावकारी बनाउन प्रेरणा मिलेको अध्यक्ष पहाडीले बताउनुभयो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. ढुण्डिराज पौडेलले गत आर्थिक वर्षमा निर्धारण गरिएका सूचकहरुमा केही परिवर्तन गरिनु, निर्माणका कारण अस्पतालका पुराना भवन भत्काइनु तथा फोहोरमैला व्यवस्थापनको कामका लागि स्थान अभावका कारण अझ सोचे जस्तो काम गर्न नपाएका कारण अघिल्लो वर्षको तुलनामा यस वर्ष कम अंक प्राप्त भएको बताउनुहुुन्छ ।

पर्वत अस्पतालले यस वर्ष पनि विगतका सेवाहरु लाई निरन्तरता दिँदै कोरोना संक्रमितहरुको उपचारका लागि ३५ शय्याको आइसोलेसन सञ्चालन गरिरहेको छ। यस्तै, मिर्गौलाको निःशुल्क डायलिसिस सेवा पनि प्रदान गरिरहेको छ। अस्पतालमै रहेको अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजनलाई अस्पतालका हरेक शैयामा विस्तार गरिएको छ। यस वर्ष ६२ प्रतिशत अंकको साथमा स्याङ्जा अस्पताल दोस्रो स्थानमा आएको छ भने ६१ प्रतिशत अंकको साथमा दमौली अस्पताल तेस्रो स्थानमा रहेको छ। अघिल्लो आर्थिक वर्ष दमौली अस्पताल दोस्रो स्थानमा रहेको थियो।