विदेशमन्त्री जयशंकर र अल थानीबीच भेटवार्ता


इन्डिया न्युज नेटवर्क

गत जुन ९ तारिखमा कतारको संक्षिप्त भ्रमण गरेका भारतीय विदेशमन्त्री जयशंकरले हालै दोस्रोपटक कतार भ्रमण गरेका छन् ।
विदेशमन्त्री एस जयशंकर र कतारका उनका समकक्षी अब्दुलहमान अल–थानीबीच मंगलबार दोहामा भेटवार्ता भएको छ । उक्त भेटवार्ता मा दुवै नेताले द्विपक्षीय सहयोग र क्षेत्रीय मुद्दाहरूको बारेमा विचार आदान–प्रदान गरेका थिए । कतारमा विदेशमन्त्री जयशंकरको एउटै सातामा भएको यो दोस्रो भ्रमण हो ।

कतारका उप–प्रधानमन्त्री र परराष्ट्रमन्त्री अल–थानीसँँग भेटवार्तापछि जयशंकरले एक ट्विट गर्दै भनेका छन्– ‘कोभिड–१९ को दोस्रो लहरको बेला कतारले भारततर्फ देखाएको ऐक्यबद्धता र सहयोग का लागि धन्यवाद छ ।’ साथै, उनले भारत–कतारबीचको द्विपक्षीय सहयोगका बारे छलफल गर्दै क्षेत्रीय मुद्दाहरूको बारेमा विचार आदान–प्रदान गरेका थिए ।जयशंकरले कतारका उपप्रधानमन्त्री तथा रक्षा राज्यमन्त्री खालिद एम अल–अतियासँग पनि भेटवार्ता गरेका थिए । जयशंकरले उक्त भेटमा दुवै देश द्विपक्षीय साझेदारीलाई मजबुत बनाउन प्रतिबद्ध रहेको जानकारी दिएका छन् ।

कुवेत भ्रमणका क्रममा जयशंकर जुन ९ तारिखमा कतारमा केही क्षणका लागि रोकेका थिए । त्यसबेला उनले कतारका राष्ट्रिय सुरक्षा सल्लाहकार मोहम्मद बिन अहमद अल मेस्देनसँग भेटेका थिए ।दोहामा विदेशमन्त्री जयशंकरले अफगानिस्तान शान्ति र मेलमिलापका लागि संयुक्त राज्य अमेरिकाका विशेष प्रतिनिधि जल्मयी खलिलजादसँग पनि संक्षिप्त भेट गर्दै अफगानिस्तान र यस क्षेत्रका हितबारे छलफल गरेका छन् ।