तामाकोशी नदी किनारमा जोखिम


दोलखा, (नेस)

नेपाल चीन सिमानाभन्दा केही माथि तिब्बतको टिङ्ग्री काउन्टीमा पर्ने तामाकोशी नदीको सहायक नदी रोङ्सीमा पहिरो खसेर ताल बनेपछि माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको ड्यामको पानी घटाइएको छ ।

चीनसँगको सिमाना पिलर नम्बर ६० र ६१ मा पर्ने रोङ्सी खोलामा दोलखाको सिमानाभन्दा करिब तीन किलोमिटरमाथि पहिरो खसेर ताल बनेको थियो । तिब्बतको रोङ्सी खोलामा बाढी आएकै कारण चीनसँगको ६० नम्बरको सीमा पिलरसमेत हराएको छ । ६० नम्बर सीमा पिलर भएको स्थानभन्दा केहीमाथि अहिले चीनले ठुलो ढुङ्गामा लेखेर अस्थाई पिलर बनाएको छ ।पहिरोले बनाएको ताल फुटेर आयोजना तथा तामाकोशी आसपासका बस्ती जोखिममा पर्न सक्ने भएपछि आयोजनाको ड्याममा रहेको पानी नौ मिटर घटाउन शुरू गरिएको छ । समुद्री सतहबाट १९८७ मिटर अग्लो ड्याममा भरी रहेको आयोजनाको पानी नौ मिटर घटाएर १९७८ मिटरसम्म पु¥याउन शुरू गरिएको आयोजनाका प्रवक्ता डाक्टर गणेश न्यौपानेले बताउनुभयो । आयोजनाको ड्याममा रहेको एक सय ५० क्युविक पानी खोलामा छाडिएको पनि आयोजनाका प्रमुख डाक्टर न्यौपानेले बताउनुभयो ।

चिनियाँ टोली पुगेर पहिरोले खोला थुनिएर ताल बनेको ठाँउबाट पानी कटान गर्न शुरू गरेको जानकारी आफूले पाएको दोलखाका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताउनु भयो । तर, जोखिम टरिनसकेकाले माथिल्लो तामाकोशी जलविद्युत् आयोजना र तामाकोशी नदी किनारमा रहेको बस्तीका बासिन्दाले सर्तकता अपनाउनु पर्ने प्रमुख जिल्ला अधिकारी घिमिरे बताउनु हुन्छ ।शुक्रबार बेलुका ८ बजेतिर पहिरो खसेर चीनको तिब्बतमा पर्ने टिङ्ग्री काउन्टीमा रहेको रोङ्सी खोला थुनिएर ताल बनेपछि तत्कालै दोलखा प्रसाशनले सूचना जारी गरी तामाकोशी नदी किनारमा रहेको बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा जान र सर्तक रहन आग्रह गरेको थियो ।