नडालले विम्बल्डन नखेल्ने


लन्डन, (एजेन्सी)  । 

टेनिसका महारथी स्पेनका राफाल नाडालले आगामी ग्रान्डस्लाम प्रतियोगिता विम्बल्डन नखेल्ने जनाएका छन् । नडालले सोसल मिडियामार्फत् विम्बल्डन नखेल्ने जानकारी दिएका हुन् । साथै उनले जापानमा हुने टोक्यो ओलम्पिक पनि नखेल्ने बताएका थिए । फ्रेन्च ओपन खेलेर थाकेका नडालले आराम आवश्यक भएको भनेर सो निर्णय लिएको बताए । उनले उक्त निर्णय लिन कठिन भएको पनि बताए ।
हरेक वर्ष हुने चार ग्रान्डस्लामध्ये एक विम्बल्डन टेनिस प्रतियोगिता जुन २८ देखि ११ जुलाइसम्म आयोजना हुनेछ । साथै २३ जुलाइदेखि ८ अगस्टसम्म जापानमा ओलम्पिक गेम्स पनि हुनेछ । फ्रेन्च ओपन र विम्बल्डनबीच २ साता मात्रै फरक छ । फ्रेन्च ओपनमा नडाल सेमिफाइलनमा सर्बियाका नोभाक जोकोभिचसँग हारेका थिए ।

नडालले फ्रेन्च ओपनमा १३ पटक उपाधि जितेका छन् ।नडालले विम्बल्डन नखेल्ने भएपछि विश्वका नम्बर एक खेलाडी जोकोभिचलाई फाइदा हुने सम्भावना छ । मेन्स सिंगल्सतर्फ सर्वाधिक ग्रान्डस्लाम उपाधि जित्ने सूचीमा नडाल र स्विट्जरल्यान्डका रोजर फेडररले २० उपाधिसहित शीर्ष स्थानमा छन् । तर, फ्रेन्च ओपन जितेसँगै जोकोभिचले करिअरमा १९ ग्रान्डस्लाम उपाधि जितेका छन् । यदि विम्बल्डन पनि जितेमा जोकोभिचले उनीहरूले बराबरी गर्नेछन् ।