प्रदेश विपद् व्यवस्थापन बैठक

६ जिल्लालाई न्यूनतम् उद्धार सामग्री


हेटौंडा, (नेस) ।

बागमती प्रदेश विपद् व्यवस्थापन निर्देशन समितिले विपद्का घटना बढेकाले राहत र उद्धारमा जुट्न विपद् व्यवस्थापन कार्यकारी समिति र मन्त्रालयहरुलाई निर्देशन दिएको छ ।

समिति अध्यक्ष तथा मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले सिन्धुपाल्चोकको बाढीग्रस्त क्षेत्रमा तत्काल राहत पठाउने निर्णय गरेको छ । बैठकले मनसुनी प्रभाव शुरु भइसकेको र सरदरभन्दा बढी वर्षा हुने सम्बन्धित निकायहरुबाट पूर्वानुमानसमेत भएको हुँदा बाढी, पहिरो, डुबान, भूक्षयजस्ता घटनाबाट हुनसक्ने धनजनको क्षति न्यूनीकरण गर्न आवश्यक तयारी, उद्धार तथा राहतका कार्यहरु प्रभावकारी बनाउन प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीको अध्यक्षतामा रहेको विपद् व्यवस्थापन कार्यकारी समिति र प्रदेशका सबै मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ ।

समितिले मनसुनबाट हुने क्षति रोकथाम तथा उद्धारका लागि प्रदेश आपत्कालीन कार्यसञ्चालन केन्द्रअन्तर्गत् गोदामघरमा भएका उद्धार सामग्रीको मौज्दातबाट प्रदेश प्रहरी कार्यालयसँगको समन्वयमा धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र दोलखा जिल्लाका जिल्ला प्रहरी कार्यालयलाई न्यूनतम् उद्धार सामग्री तत्काल पठाउने, असार १ गते सिन्धुपाल्चोक जिल्लाको हेलम्बु र मेलम्ची क्षेत्रमा गएको बाढीबाट पीडितका लागि तत्काल खाद्यान्न व्यवस्थापन गर्न आवश्यक खाद्य सामग्री जिल्ला विपद् व्यवस्थापन समिति सिन्धुपाल्चोकलाई उपलब्ध गराउने, मनसुनी वर्षाका कारण हुनसक्ने सम्भावित विपद्का घटनालाई मध्यनजर गरी प्रदेशअन्तर्गत् सबै सुरक्षा निकाय उच्च सतर्कमा रही खोज, उद्धार एवम् राहत बितरण कार्यमा तदारुकताका साथ खट्न आग्रह गर्ने, प्रदेश विपद् व्यवस्थापन कोषमा १० करोड रकम थप गर्न आर्थिक मामिला तथा योजना मन्त्रालयलाई लेखी पठाउनेलगायत निर्णय गरेको प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री केशबराज पाण्डेले जानकारी दिनुभयो ।

मन्त्री पाण्डेका अनुसार बैठकले विश्वव्यापीरुपमा फैलिरहेको नयाँ ‘भेरियन्ट’ सहितको कोभिड संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार गर्न कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोष खाताबाट सिंगटी अस्पताल दोलखालाई २० लाख, नुवाकोटको लिखु गाउँपालिकामा सञ्चालित अस्थायी कोभिड अस्पताललाई धुलिखेल अस्पतालमार्फत् २० लाख, नुवाकोट सिटी कम्युनिटी अस्पताललाई ३० लाख, नेपाल कोरिया मैत्री अस्पताल भक्तपुरलाई ३५ लाख, मनमोहन मेमोरियल सामुदायिक अस्पताल, काठमाडौंलाई ५० लाख र ख्वपः अस्पताल, भक्तपुरलाई १ करोड रकम सामाजिक विकास मन्त्रालयमार्फत् उपलब्ध गराउने निर्णय गरेको छ ।