पुँजी बजारमा प्रपञ्च


अर्थतन्त्रको एउटा बिम्बको रूपमा पुँजी बजारलाई लिने गरिन्छ । देशको आर्थिक स्थिति कस्तो छ भनेर आँकलन गर्नका निम्ति त्यो देशको पुँजी बजारलाई पनि हेर्ने गरिन्छ । नेपालमा पुँजी बजारप्रति सर्वसाधारणको चासो बढ्दै जाँदा बजारको आकारले पनि ठूलोस्वरूप ग्रहण गरिरहेको छ । केही वर्ष अघिसम्म काठमाडाैको चक्रपथभित्र सीमित शेयर कारोबार अहिले देशैभर पुगेको छ । करिब ३३ लाख मानिस पुँजी बजारमा आबद्ध छन् भने त्यसको करिब आधा संख्या सक्रिय लगानीकर्ताका रूपमा देखा परेको छ । शेयर बजारको आकार देशको कुल गार्हस्थ उत्पादन (जीडीपी) को हाराहारीमा रहेको छ । केही दिन अघिसम्म त जीडीपीभन्दा धेरैमाथि पुगिसकेको थियो ।

पछिल्लो समयमा खुलेका प्राथमिक शेयर (आईपीओ) मा मागभन्दा दशौं गुणा बढी आवेदन पर्नेगरेको छ । विगतमा दुईतीन साताभरिको कारोबार रकम बराबर अहिले एकै दिनमा कारोबार हुनेगरेको छ । यसले नेपालमा पुँजी बजार एउटा वैकल्पिक लगानीको क्षेत्रका रूपमा विकास हुँदैगएको प्रष्ट हुन्छ । प्रशस्त लगानी भएकाले मात्रै होइन थोरै लगानी भएका साना लगानीकर्ता पनि पुँजी बजारमा प्रवेश गर्न सक्छन् र लगानीअनुसारको प्रतिफल सुरक्षित गर्न सम्भव छ भन्ने देखाउँछ । यसका निम्ति प्रविधिको विकाससँगै पुँजी बजारमा प्रवेश गर्न सहज अवस्था हुनु र हजार रुपियाँ भएको व्यक्तिले पनि लगानी गर्नसक्ने नीति बन्नु मुख्य कारण हुन् । साथसाथै पुँजी बजारका बारेमा चल्ने चर्चाले पनि सर्वसाधारणको ध्यान त्यसतर्फ आकर्षित गरेको हुनसक्छ । पछिल्लो समयमा पुँजी बजारप्रति सर्वसाधारणको चासो बढिरहँदा सर्वसाधारणलाई शेयर बेच्न नयाँनयाँ कम्पनी इच्छुक देखिन्छन् । यसमा राज्यले लिएको नीति पनि कारक हुनसक्छ । नेपालमा पुँजी बजारको विकास भरहेका बेला विकाससँगै विनाशले पनि प्रवेश गरेको देखिन्छ । पछिल्लोपटक नेपाल धितोपत्र बोर्डले ५१ वटा कम्पनीलाई जोखिमयुक्त सूचीमा राखेकाले पनि यो क्षेत्रमा केही गलत भइरहेको प्रष्ट हुन्छ ।

अर्थात् धमिलो पानीमा माछा मार्ने प्रवृत्ति हाबी हुन थालेको स्पष्ट संकेत गर्छ । शेयर बजारमा बाढी आएको बेला साना लगानीकर्तालाई गुमराहमा राखेर केही संगठित समूहले शेयर मूल्यमा चलखेल गर्नसक्नेतर्फ सचेत हुनैपर्छ । वित्तीय सूचकहरू सन्तोषजनक नरहेका कम्पनीको शेयर मूल्य छोटो समयमै तीनसय प्रतिशतभन्दा बढीले वृद्धि हुनु तथा लाभांशको गुन्जायस नै नभएका कम्पनीको लगातार मूल्य बढ्नुजस्ता विषयले सो कुराको सङ्केत गर्दछ ।निश्चय पनि धितोपत्र बोर्डले मंगलबार विज्ञप्ति निकालेर लगानीकर्तालाई सचेत गरायो जो सकारात्मक पक्ष हो । तर, पुँजी बजारका विषयमा पूर्ण जानकारी नभएका र भर्खरै मात्र प्रवेश गरेका लगानीकर्तालाई भने बोर्डको सो कदमले आतङ्कित बनाएको छ । नियामक निकायले लगानीकर्ता एवम् सरोकारवाला पक्षलाई सचेत गराउने र गलत बाटो जान लागेकालाई सही मार्गमा ल्याउने जिम्मेवारी भए पनि आतङ्कित बनाउने किसिमबाट कठोर कदम चाल्दा हुर्किंदै गएको नेपालको पुँजी बजार भोलिका दिनमा केही अतिवादीहरूले भनेजस्तै ‘जुवा’ को पर्याय हुनसक्छ । यसतर्फ पनि नियामक निकाय सजग हुनैपर्छ ।