नेप्से ३ हजारभन्दा माथि



काठमाडौं, नेस । 

नेपाल स्टक एक्सचेन्ज नेप्से  परिसूचक सोमबार ३ हजारभन्दा माथिको बिन्दुम पुगेको छ । ४२ दशमलव ७२ अंकले बढेर नेप्से ३०२५ दशमलव ८३ बिन्दुमा पुगेको हो ।कुल २२१ कम्पनीको ३ करोड ५० लाख २७ हजार कित्ता शेयर १८ अर्ब ८८ करोड ४० लाख रुपियाँको किनबेच भएको छ ।

कारोबार रकमका आधारमा यस दिन अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक ६२ करोड ५९ लाख रुपियाँको शेयर किनबेच भएको छ । यस दिन ११ वटा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा नेपाल इन्स्योरेन्स, खानीखोला हाइड्रोपावर, जोशी हाइड्रोपावर, घलेम्दी हाइड्रोपावर, ङादी ग्रुप पावर, ओरियन्टल होटल, सीईडीबी हाइड्रोपावर, तारागाउँ रिजेन्सी होटल, यूनियन हाइड्रोपावर, एचआईडीसीएल र सोल्टी होटल रहेका छन् ।समग्र परिसूचकमा उच्च वृद्धि भएको दिन माउन्टेन हाइड्रो, अरुण भ्याली हाइड्रोपावर, युनाइटेड मोदी हाइड्रोपावर र गुडविल फाइनान्सका लगनीकर्ताले भने गुमाएका छन् ।

१० महिनामा व्यापार घाटा ११४५ अर्ब पुग्यो

चालू आर्थिक वर्षको १० महिनामा कुल वस्तु व्यापार घाटा २१ दशमलव ५ प्रतिशतले वृद्धि भई ११४५ अर्ब ६३ करोड पुगेको छ । यस अवधिमा १०८ अर्ब ४८ करोड रुपियाँको निर्यात हुँदा आयात भने २२ दशमलव ३ प्रतिशतले वृद्धि भई १२५४ अर्ब ११ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १४ दशमलव २ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ८।६ प्रतिशत पुगेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार कुल वस्तु निर्यात ३२ दशमलव २ प्रतिशतले वृद्धि भई १०८ अर्ब ४८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ४ दशमलव ५ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्पm क्रमशः ३५ दशमलव ८ प्रतिशत र २५ दशमलव ३ प्रतिशतले निर्यात वृद्धि भएको छ । त्यस्तै चीनतर्पmको निर्यातमा १८ दशमलव ४ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा सोयाविन तेल, अलैंची, जुटका सामान, धागो पोलिस्टर तथा अन्य, ऊनी गलैचा लगायतका वस्तुको निर्यात बढेको छ । पाम तेल, दाल, जस्तापाता, तार, चोकर लगायतका वस्तुको निर्यात घटेको छ ।

आर्थिक वर्ष २०७७-७८ को १० महिनामा कुल वस्तु आयात २२ दशमलव ३ प्रतिशतले वृद्धि भई १२५४ अर्ब ११ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १३ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २९।८ प्रतिशत, १७ दशमलव २ प्रतिशत र ६ दशमलव २ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाविन तेल, एमएस बिलेट, चामल, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जालगायतका वस्तुको आयात बढेको छ । यसैगरी हवाईजहाजका पार्टपुर्जा, कच्चा पाम तेल, पेट्रोलियम पदार्थ, भिडियो, टेलिभिजन तथा पार्टपूजा, चाँदीलगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्पm तातोपानी, कन्चनपुर र रसुवा भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्पm तातोपानी र रसुवा भन्सार कार्यालय बाहेकका नाकाबाट भएको आयातमा वृद्धि भएको छ । वार्षिक विन्दुगत आधारमा २०७८ वैशाख महिनामा भन्सार तथ्यांकमा आधारित निर्यातको एकाइ मूल्य सूचकांक ४ दशमलव ७ प्रतिशतले बढेको छ भने आयात मूल्य सूचकांक ७ दशमलव१ प्रतिशतले बढेको छ । वैशाख महिनामा १ दशमलव ३ प्रतिशतले बढेको व्यापारको शर्त वैशाख महिनामा २ दशमलव ३ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्