स्वास्थ्यमन्त्री तामाङद्वारा सातै प्रदेका स्वास्थ्यमन्त्रीहरूसँग छलफल


नेपाल समाचारपत्र, काठमाडौं। 

स्वास्थ्य तथा जनसंख्यामन्त्री शेर बहादुर तामाङले आफ्नो कार्यभार सम्हालेसँगै सातै प्रदेशका सामाजिक, स्वास्थ्य तथा जनसंख्या मन्त्रीहरूसँग भर्चुअल छलफल शुरू गर्नुभएको छ ।छलफलमा उहाँले कोभिड १९ नियन्त्रण तथा व्यवस्थापनमा प्रदेशस्तरबाट भइरहेका कामहरूको प्रशंसा गर्दै नागरिकको जीवन रक्षाका लागि दत्तचित्त भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

आफूहरू खोपमै केन्द्रित भई कार्य गरिरहेको जानकारी दिंदै उहाँले आम नागरिकको जीवन रक्षाका लागि सबैले मिलेर काम गर्नुपर्ने र सहज, सुलभ र सकेसम्म निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने बताउनुभयो ।छलफलमा उहाँले महामारीको समयमा उपचार सँगसँगै रोकथाम पनि महत्वपूर्ण हुनेहुँदा अध्यादेशमार्फत सबैलाई स्वास्थ्य सामग्रीहरू खरिदका लागि सहज हुने गरी व्यवस्थासमेत गरिएको जानकारी गराउनुभयो । उहाँले निर्माण भएका अस्पतालहरूका पूर्वाधारहरू सुदृढ गर्दै खोप उपलब्धताका सकारात्मक सन्देश चाँडै नै प्रवाह गर्ने पनि बताउनुभयो । उहाँले कोभिड–१९ संक्रमणको तेस्रो लहरको तयारीका लागिसमेत मन्त्रालयले कार्यहरू अगाडि बढाइसकेको जानकारी गराउनुभयो ।मन्त्री तामाङले निजी अस्पतालहरूबाट सेवा प्रवाहमा भएका राम्रा कार्यहरूको प्रशंसा गर्दै केही अस्पतालहरूले सेवाग्राहीलाई पारेका समस्याहरू समाधान गर्न अनुगमन र कारवाही बढाउने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले कोभिड–१९ को वर्तमान अवस्थाबारे विश्लेषणात्मक प्रस्तुति गर्नुभएको थियो ।

छलफलमा प्रदेश नं. १ का सामाजिक विकास मन्त्री उषाकला राईले वर्तमान अवस्था, चुनौती र आगामी कार्ययोजनाका बारेमा आफ्ना भनाइहरू राख्दै विभिन्न तहहरू बीचको समन्वय बढाउने गरी कार्य गर्नुपर्नेमा जोड दिनुभएको थियो ।सुदूरपश्चिम प्रदेशबाट सामाजिक विकास मन्त्री लालबहादुर खडकाले सुदूरपश्चिम प्रदेशलाई उच्च प्राथमिकतामा राखेर योजना बनाउने र खोपलाई पहिलो प्राथमिकतामा राखेर अर्को लहरको संक्रमणविरुद्ध लड्ने तयारी गरिरहेको बताउनुभयो ।
वागमती प्रदेशका सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले पहिलो लहरको संक्रमणको अवस्थामा स्थानीय तहहरूबाट क्वारेन्टिनमा प्रशंसनीय कार्यहरू भएको तर दोस्रो लहरमा निकै चुनौतीपूर्ण अवस्थाबाट गुज्रिनु परेकोले सचेत भएर आगामी दिनका लागि तयारी, समन्वय र सहकार्य बढाएर काम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।गण्डकी प्रदेशका प्रमुख सचिवले प्रदेशको अद्यावधिक अवस्थाबारे जानकारी गराउँदै गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा सुविधासम्पन्न एम्बुलेन्स सेवाको महत्वबारे प्रष्टयाउनु भयो ।

लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले स्वास्थ्यमा राज्यको लगानी बढाउनुपर्ने, स्वास्थ्यकर्मीलाई उत्प्रेरित गर्नुपर्ने र तीन तह बीचको समन्वय, सहकार्य व्यवहारमा देखिनु पर्नेमा जोड दिनुभयो ।कर्णाली प्रदेशका सामाजिक विकास सचिव कृष्णप्रसाद काप्रीले जनशक्ति, स्रोत साधान, आपूर्ति व्यवस्थापन सुधार गर्नेलगायत भौगोलिक अवस्थाका कारण बिरामीको ओसारपसारलाई विशेष किसिमले सम्बोधन गर्न आवश्यकता रहेको आंैल्याउनुभयो ।

प्रदेश नं. २ का सामाजिक विकास मन्त्रालयका सचिव इमानारायण श्रेष्ठले स्वास्थ्यका पूर्वाधारहरूको प्राविधिक विश्लेषण र प्रयोगको सुनिश्चितताको दिगोपनालाई ध्यानमा राख्दै समुचित तरिकाले विकास गर्नुपर्ने बताउनुभयो ।