नेता लामाको पक्राउप्रति प्रदेश कांग्रेसको आपत्ति


हेटौंडा, (नेस) ।

नेपाली कांग्रेसका युवानेता गणेश लामालाई कास्की प्रहरीले नियन्त्रणमा लिएको विषयलाई लिएर नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले आपत्ति जनाउनुभएको छ ।

नेता बानियाँले बिहीबार विज्ञप्ती निकाल्दै युवानेता लामाको पक्राउप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको छ । उहाँले कुनै पनि नागरिकले स्वतन्त्रपूर्वक हिँडडुल गर्न पाउने अधिकार कुण्ठित हुने गरी प्रहरीले नियन्त्रणमा लिनु गलत भएको बताउनुभएको हो ।विज्ञप्तीमा नेता बानियाँले नेता लामालाई निषेधाज्ञा उलंघन गरेको आरोपमा नियन्त्रणमा लिएको दाबी गरिए पनि वर्तमान सरकारले राजनीतिक पूर्वाग्रह राखी पक्राउ गरेर ज्यादती गरेको दावी गर्नुभएको छ ।नेता बानियाँले जारी निषेधाज्ञा उलंघन गरेको भन्दै नियन्त्रणमा लिइए पनि एउटा दलको नेतालाई जरिवाना लिएर छाड्न सकिए भए पनि नियन्त्रणमा राखी अनावश्यक सोधपुछ गर्नु बदनियत र दुर्भाग्यपूर्ण भएको बताउँदै लामालाई बिनाशर्त तत्काल छाड्न विज्ञप्तीमार्फत् आग्रह गर्नुभएको छ । निषेधाज्ञा उलंघन गरेको भनिए पनि राजनीतिक चलखेल गरेको आरोपमा लामालाई पक्राउ गरेको दाबी गरिएको छ ।निषेधाज्ञा उलंघन गरेको आरोपमा लामासहित ३ जनालाई बिहीबार कास्की प्रहरीले पोखराबाट पक्राउ गरेको थियो । बिहीबार प्रहरीले लामालाई लेकसाइडस्थित क्याट्वाक रेस्टुराँबाट पक्राउ गरेको हो ।

कास्की प्रहरीले भने लामा निषेधाज्ञाका बेला किन आएको भनेर सोधपुछका लागि नियन्त्रणमा लिइएको बताएको छ । ‘अरु कुनै विषय होइन, यो निषेधाज्ञा उल्लंघन भयो कि भन्ने हो,’ प्रहरीले भनेको छ–सोधपुछकै क्रममा छौं ।लामालाई वडा प्रहरी कार्यालय बैदाममा राखेर प्रहरीले सोधपुछ गरिरहेको बताइएको छ । पोखराकै नेता खगराज अधिकारी गृहमन्त्री भएकै दिन लामा पक्राउ पर्नुभएको हो ।गत आमनिर्वाचनमा बागमती प्रदेशसभाका लागि काभ्रे क्षेत्र नम्बर–१ (ख) का उम्मेदवारसमेत रहनुभएका लामाले गण्डकी प्रदेश सरकारमा रहेका निवर्तमान मन्त्री दीपक मनाङ्गेलाई विपक्षी गठबन्धनमा ल्याउन भूमिका खेलेको चर्चा चलेको थियो ।