प्राङ्गारिक मल सामान्य भाषामा भन्नुपर्दा गाईवस्तु तथा जनावरको मल हो । गाउँघरमा प्रायः गाई, भैंसी तथा बाख्रा पालिने हुँदा तिनीहरूको मललाई नै प्राङ्गारिक मल भन्ने गरिन्छ तर अरु घरपालुवा जनावरको मल पनि प्राङ्गारिक मल हो । प्राङ्गारिक मल खेतीका लागि अत्यावश्यक हुन्छ । जुनसुकै खेती कार्यका लागि पनि प्राङ्गारिक मलको प्रयोग हुन्छ, तर बालीअनुसार प्राङ्गारिक मलको मात्रा पनि कम वा बढी हालिन्छ । प्राङ्गारिक मललाई अझ विस्तृतरूपमा परिभाषित गर्दा यो मल जनावरको मलमूत्र र रूख तथा घाँसका हरिया, सुकेका पात आदिको कुहिएको मिश्रण हो ।
सर्वप्रथम प्राङ्गारिक मल बनाउन गोबर वा वस्तुभाउको मल तथा सोतर लिनुपर्छ । मलको दुई गुणा सोतरको मात्रा राखी राम्रो ठाउँमा मल र सोतर राम्रोसँग मिश्रित गरेर थुप्रो लगाउनुपर्छ । थुप्रो लगाएको मललाई महिनाको एकपटक राम्रोसँग फिटिने गरी पल्टाउनुपर्छ । यसरी महिनाको एकपटक गरेर ३ वा ४ पल्टसम्म मल पल्टाउँदा प्राङ्गारिक मल तयार हुन्छ । अब यो तयारी मल खेती कार्यमा प्रयोग गर्न सकिन्छ ।किसानले प्राङ्गारिक मल नियमित प्रयोगमा ल्याउन थाल्यो भने रासायनिक मलको अभाव त्यत्तिकै समाप्त हुन्छ । कृषि प्राङ्गारिक मलका लागि सरकारले विशेष व्यवस्था गर्नुपर्छ । रासायनिक मल र प्राङ्गारिक मललाई एउटै सिक्काका दुई पाटाका रूपमा हेर्नु उपयुक्त हुन्छ । रासायनिक मल कुुन–कुन बालीका लागि प्रयोग गर्ने, प्राङ्गारिक मल कुन–कुन बालीका लागि प्रयोग गर्ने त्यसको खाका तयार गर्नु सरकारको दायित्व हो । मलका लागि बाली नै छुुट्याइदिएपछि त्योअनुसार योजना बनाउन र मलको व्यवस्थापन गर्न सजिलो हुन्छ । रासायनिक मलका लागि मन्त्रालयले निर्देशिका तयार गरेर स्थानीय, प्रदेश तथा संघका लागि कार्यान्वयनमा ल्याएको देखिन्छ ।
नियमित किसिमले यथेष्ट प्राङ्गारिक मल प्रयोग गरिएको खण्डमा सूक्ष्म तत्वहरुको परिपूर्तिसमेत सँगसँगै हुन जान्छ । सूक्ष्म तत्वहरुको अभावकै अवस्था सिर्जना भइसकेको माटोमा भने रासायनिक मलको साथमा मिश्रित सूक्ष्म तत्व जस्तै– साल्ट ट्रेडिङबाट आयात गरिएको जिंक तथा बोरोनयुक्त सिंगल सुपर फस्फेटको प्रयोग गर्न सकिन्छ । यसवाट जिंक तथा बोरोनको आपूर्ति हुन जान्छ ।साथै यो मलमा क्याल्सियम र सल्फरसमेत हुने हुँदा सहायक तत्वको समेत फस्फोरस मलको साथसाथै आपूर्ति हुन पुग्दछ । यी सहायक तथा सूक्ष्म तत्वहरुका अलावा अन्य सूक्ष्म तत्वहरु प्रयोग गर्नुपरेमा माटो व्यवस्थापन निर्देशनालय वा मातहतका क्षेत्रीय माटो परीक्षण प्रयोगशालाको शिफारिस तथा सल्लाहअनुसार छुट्टै सूक्ष्म तत्व खरिद गरी प्रयोग गर्नै पर्ने हुन्छ । माटोमा रहेको सूक्ष्म तत्वहरुको अवस्था जानकारी पाउनका लागि आफ्नो जमिनको माटो परीक्षण गराउनु र परीक्षणको नतिजाअनुसार नै आवश्यक परिमाणअनुसारको सूक्ष्म तत्वको प्रयोग गर्नु बुद्धिमानी हुन्छ । यसबाट माटोको गुणस्तरसमेत जोगाउन सकिन्छ । प्राङ्गारिक मलको व्यापारिक कारोबार तथा मल उत्पादन कार्यक्रम दुवै हालसम्म भएको देखिँदैन ।
तथापि, व्यापारिक गतिविधिबाट कृषकहरुलाई जसरी रासायनिक मल उपलब्ध गराइन्छ त्यसै गरी यसको सन्तुलित प्रयोग तथा प्रभावकारी उपयोगका लागि जानकारीसमेत प्रवाह गर्नुपर्दछ ।प्राङ्गारिक मलबाट माटोमा हुने महत्वपूर्ण फाइदाहरुलाई रासायनिक मलको प्रयोगबाट कमजोर तुल्याइसकेको अवस्था भएको हुँदा नेपाल सरकारले प्राङ्गारिक मल उत्पादन तथा प्राङ्गारिक मल प्रवद्र्धन कार्यक्रम सञ्चालनमा ल्याउन जरुरी छ ।नेपालमा प्राङ्गारिक मलको प्रयोग स्थिति अत्यन्त कमजोर अवस्थामा पुगेको हुँदा माटोमा हुनै पर्ने प्राङ्गारिक पदार्थको तहसमेत घट्न गएको छ भने अर्कोतर्फ प्रत्यक्षरुपमा माटोको भौतिक तथा रासायनिक गुणहरुमा समेत नकारात्मक हुन गई बालीनालीको उत्पादकत्वमा ह्रास आइरहेको छ ।प्राङ्गारिक पदार्थको अभाव हुनु, प्राङ्गारिक मलको प्रयोग नगरिनुजस्ता कारणले कृषकहरुले प्रयोग गरिरहेको रासायनिक मलहरुले समेत अपेक्षित उत्पादन दिन सकिरहेका छैनन् । यो ठूलो चुनौतीको विषय भए तापनि कर्पोरेसनले विभिन्न सञ्चारमाध्यम तथा तालिम आदिबाट जागरुकता पैदा गर्ने प्रयास गरिरहेको छ ।
हामीले प्राङ्गारिक मलको साथसाथै सन्तुलित किसिमले मात्र रासायनिक मलको प्रयोग गर्नुपर्ने हुन्छ । हामीसँग रहेका विभिन्न तत्वयुक्त रासायनिक मलको प्रयोग गरेको अवस्थामा माटोमा कमी हुँदै गएको क्याल्सियम, सल्फर, जिंक, बोरोनजस्ता बिरुवाको लागि आवश्यक पर्ने सहायक तथा सूक्ष्म तत्वहरुको सहज आपूर्ति बढाउन सक्छौैं । आफ्नो खेतबारीको माटो परीक्षण गराई सोही अनुरुप सिफारिस गरिएअनुसारको मलखाद प्रयोग गरिएमा मात्र हामीले हाम्रो माटो जोगाउन र त्यसबाट निरन्तर उत्पादन लिन सक्ने हुन्छौं ।
– विनय थापा, हेटौडा ।
प्रतिक्रिया