डोटीमा जीप दुर्घटना, एकको ज्यान गयो, एक घाइते


विमल विष्ट,डोटी   । 

डोटीको दिपायल सिलगढी नगरपालिका–४ समुहगाढमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छभने एकजना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कान्तिराज जोशीका अनुसार कैलालीबाट बोइलर कुखुराका चल्ला र दाना लिएर आउदै गरेको सुप्रप ००१००१ च २६१५ नम्बरको महेन्द्रा बोलोरो जीप आज शुक्रबार बिहान करिब ४.४५ बजे दुर्घटनामा परेको हो ।उक्त दुर्घटनामा परि कैलाली जिल्ला धनगढी उपमहानगरपालिका–५ तारानगर बस्ने ५० वर्षीय जीप चालक हुकुम शाहको ज्यान गएको छ ।

यसैगरी उक्त दुर्घटनामा परि बाजुरा जिल्ला बुढिगङ्गा नगरपालिका–८ बस्ने २६ वर्षीया देबीकुमारी शाह गम्भीर घाइते हुनु भएको प्रहरीले जनाएको छ ।घाइतेको दिपायल पिपल्लामा रहेको शैलेश्वरी अस्पतालमा उपचार भइरहेको र उहाँको अवस्था गम्भीर रहेको उपचारमा सम्लग्न स्वास्थ्यकर्मीले जनाएका छन् । जीप अनियन्त्रीत भइ सडकबाट कम्तिमा पनि १०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।