प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् बिस्तार

राष्ट्रपतिद्वारा जारी विज्ञप्तिमा संविधानको धारा नै गायव



मधुसूदन रायमाझी, काठमाडौं । 

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको छ । उहाँले बिहीबार खाली रहेको छ जना मन्त्री र एक जना राज्यमन्त्री थप गर्दै मन्त्रिपरिष्दलाई पूर्णता दिनुभएको हो ।सत्तारूढ दल नेकपा एमालेबाट ६ मन्त्री, एक राज्यमन्त्री र जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षबाट एक मन्त्री थपेसँगै २५ सदस्यीय मन्त्रिपरिषद्ले पूर्णता पाएको हो । २५ सदस्यीय मन्त्रिपरिषद्मा तीन जना उपप्रधानमन्त्री १८ मन्त्री र तीन राज्यमन्त्री रहेका छन् । तीन वर्ष चार महिनाको अवधिमा प्रधानमन्त्री ओली दुईपटक प्रधानमन्त्री हुँदा १९औंपटक मन्त्रिपरिषद् हेरेफर गर्नुभएको हो । योसँगै तीन वर्षको अवधिमा ५७ जना मन्त्री बनेका छन् ।

प्रधानमन्त्री ओलीले रक्षा मन्त्रालयबाहेक अन्य सातवटा मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गर्नुभएको छ । नवनियुक्त मन्त्रीहरूले बिहीबार नै राष्ट्रपति निवास शीतल निवासमा शपथ लिनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराउनुभएको हो ।प्रधानमन्त्री ओलीले गृहमन्त्रीमा खगराज अधिकारीलाई नियुक्त गर्नुभएको छ । गृहमन्त्रीमा महेश बस्नेत र कर्ण थापाले दाबी गरे पनि अन्ततः कास्की क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित अधिकारीलाई ओलीले गृहमन्त्रीमा नियुक्त गर्नुभएको हो । यसअघि गृहमन्त्रीमा रामबहादुर थापा रहनुभएको थियो ।राष्ट्रियसभामा पराजित भएसँगै सांसद् नभएका व्यक्तिलाई छ महिनाभन्दा बढी मन्त्री बनाउन नपाइने सर्वोच्चको फैसलासँगै गृहमन्त्रीबाट थापा हट्नुभएको थियो । तर, थापाले श्रीमतीलाई भने मन्त्री बनाउन सफल हुनुभएको छ । पूर्व माओवादी खेमाबाट उहाँले श्रीमती नैनकला थापालाई मन्त्री बनाउन सफल हुनुभएको हो । यसअघि, महिला आयोगको अध्यक्ष हुनुभएका थापालाई ओलीले सञ्चारमन्त्री बनाउनुभएको छ ।त्यसैगरी, कृषिमन्त्रीमा नियुक्ति हुनुभएका ज्वालाकुमारी साह नेकपा माओवादी केन्द्रबाट प्रदेशसभामा निर्वाचत भएर पनि नेकपा विभाजनपछि एमाले रोज्नुभएको थियो । पार्टी नीतिविपरीत गतिविधि गरेको भन्दै साहलाई माओवादी केन्द्रले सांसदबाट निष्कासन गरेको थियो । तर, प्रधानमन्त्री ओलीले साहलाई अहिले मन्त्रीमा नियुक्त गर्नुभएको छ ।

त्यसैगरी, सिन्धुलीका गणेश पहाडी एमालेको माधव नेपाल छाडेको केही समयपछि नै मन्त्रीमा नियुक्ति हुन हुनुभएको छ । बिस्तारित मन्त्रिपरिषद्मा ओलीले पहाडीलाई महत्वपूर्ण मानिने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । पहाडी गत निर्वाचनमा एमालेको तर्फबाट सिन्धुली क्षेत्र नम्बर १ बाट निर्वाचित हुनुभएको थियो । गत वैशाख २७ गते प्रधानमन्त्रीलाई विश्वासको मत दिन अनुपस्थित रहनुभएका पहाडी शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन रिट निवेदन दिने बेला भने हस्ताक्षर गर्नुभएको थिएन ।जसपाका महन्त ठाकुर समूहले लिस्टबाट हटाएका जसपाका राजकिशोर यादवलाई पनि प्रधानमन्त्री ओलीले मन्त्री बनाउनुभएको छ । ओली र यादवबीच बिहीबार बिहान बालुवाटारमा वार्ता भएपछि ओलीले जसपालाई थप एक मन्त्रालय थप गर्दै यादवलाई मन्त्री बनाउन सहमत हुनुभएको थियो । यादवलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय दिइएको छ ।यादव थपिएसँगै जसपाले ओली नेतृत्वको सरकारमा राज्यमन्त्रीसहित ११ वटा मन्त्रालयको जिम्मेवारी पाएको छ ।

त्यसैगरी, कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नी आरजु राणालाई पराजित गर्ने एमालेका नारदमुनि राना वनमन्त्री बन्नुभएको छ । कैलाली क्षेत्र नं ५ बाट उहाँले आरजु राणालाई भारी मतअन्तरले पराजित गर्नुभएको थियो ।मन्त्रिपरिषद् बिस्तारसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट जारी विज्ञप्तिमा संविधानको धारा उल्लेख गरिएको छैन । राष्ट्रपति कार्यालयका प्रवक्ता रूपनारायण भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ– ‘राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमाा २०७८-०१-३१ गते गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिसमा दोहायबमोजिमको नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको छ ।’

श्रीमान्श्रीमती आलोपालो मन्त्री

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद बिस्तारका क्रममा पार्टी र गुट परिवर्तन गरेका व्यक्तिहरूलाई मन्त्रीमा नियुक्ति गर्नुभएको छ । यतिसम्म कि गुट परिवर्तन गरेकै कारण श्रीमान्श्रीमती नै आलोपालो मन्त्री हुने क्रम बढेको छ । ओली नेनृत्वको सरकारमा शुरूमै गृहमन्त्री बनाइएका रामबहादुर थापा बाहिरिए पनि उहाँलाई खुसी पार्न ओलीले श्रीमती नैनकला थापालाई सञ्चारमन्त्रीमा नियुक्ति गर्नुभएको छ ।त्यसैगरी, शुरूमा नेपाल समूहमा रहनुभएका रघुवीर महासेठले ओली पक्षमा लागेकै कारण श्रीमती जुली महतोलाई मन्त्री बनाउन सफल हुनुभएको थियो । तर, यसअघि बिस्तार गरिएको मन्त्रिपरिषद्मा श्रीमतीलाई हटाउने सहमति गर्दै आफैं उपप्रधानसहित परारष्ट्रमन्त्री बन्न सफल हुनुभएको छ ।

त्यसैगरी शुरूमा नेपाल समूहमा रहेका शेरबहादुर तामाङ र उषाकला राई दम्पतीले पनि मन्त्री उपहार पाएका छन् । गुट परिवर्तन गरेकै कारण १ नम्बर प्रदेशका सांसद रहनुभएका राईले सामाजिक विकासमन्त्री बन्नुभएको थियो भने यसअघि बिस्तारित मन्त्रिपरिषद्मा शेरबहादुर तामाङ स्वास्थ्यमन्त्रीमा नियुक्ति हुनुभएको थियो ।सञ्चारमन्त्री बन्नुभएकी थापा पछिल्लो समय सक्रिय राजनीतिमा रहनुभएको थिएन । माओवादी युद्धमा हुँदा थापा महिला संघकी अध्यक्ष रहनुभएको थियो । केही समय शिक्षण पेसामा रहनुभएका थापा २०६४ पछि महिला आयोगको अध्यक्ष बन्नुभएको थियो । मन्त्रीबाट पदमुक्त भए पनि थापाले पुल्चोकस्थित मन्त्री क्वार्टर छाड्न मान्नुभएको थिएन । श्रीमती मन्त्री भएसँगै अब थापाले क्वार्टर छोड्नुनपर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्