ठाकुरद्वारा सात दिनको समय माग


नेपाल समाचारपत्र,  काठमाडौं ।

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले निर्वाचन आयोगले पठाएको पत्रको जवाफका लागि सात दिनको समय माग गर्नुभएको छ ।
यसअघि, अध्यक्ष ठाकुरले पठाउनुभएको पत्रको जवाफमा आयोगले सो पत्र राजनीतिक दलसम्बन्धी नियमावली–२०७४ को अनुसूची–१८ बमोजिमको हेरफेर गर्न नियम २५ बमोजिम नभएको जवाफ फर्काएको थियो । त्यसपछि, अध्यक्ष ठाकुरले तोकिएको ढाँचामा पत्र पठाउन सात दिनका समय माग गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताउनुभयो ।

अध्यक्षद्वय ठाकुर र यादवले एक अर्कोलाई कारवाही गरेको पत्र मंगलबार आयोगमा पठाएको थियो । त्यसको जवाफमा आयोगले ढाँचा नमिलेको भन्दै दुवै जनाको पत्रको व्यहोराअनुसार कारवाहीको प्रक्रिया अघि बढाउन नसकिने बताएको हो ।आयोगले दुवै पक्षलाई अनुसूची–१८ बमोजिमको हेरफेर गर्न नियम २५ बमोजिमको प्रक्रिया पु¥याएर आउन भनेको छ । सो ढाँचाअनुसार दलको विवरण हेरफेर गर्न राजनीतिक दलको विधान, साविकको विवरण र हेरफेर गरिएको विवरण, केन्द्रीय समितिले विवरण हेरफेर गर्ने निर्णयसहित त्यसको हस्ताक्षरलगायत कागजात चाहिन्छ ।महन्थ ठाकुर पक्षलाई भने थप केन्द्रीय कार्यकारिणी समितिका पदाधिकारीको हस्ताक्षर सहितको प्रतिलिपि पेश गर्न भनेका छौं । ठाकुर पक्षले केन्द्रीय समितिको पदाधिकारीको निर्णयको हस्ताक्षर नबुझाएकाले सो माग गरेको आयोगका प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

ठाकुर र यादव दुवै पक्षले एक अर्कालाई कारबाही गरेको पत्र आयोगमा पठाउनुभएको थियो । यादव पक्षले ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरू लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टीबाट निष्कासन गरेको छ ।यस्तै ठाकुर पक्षले यादवलाई पार्टीबाट निष्कासन गरेको छ । यसबारे दुवै पक्षले जेठ १८ गते आयोगलाई जानकारी गराएका थिए । आयोगले पठाएको पत्रको जवाफ यादव पक्षले जेठ २० गते नै पठाएको भए पनि ठाकुर पक्षले भने समय मागेको हो । दुवै पक्षले आफूसँग कार्यकारिणी समितिको बहुमत पुगेको दाबी गरेका छन् । जसपाको कार्यकारिणी समिति ५१ सदस्यीय छ । जसमध्ये यादव पक्षले बुझाएको पत्रमा २७ जनाको हस्ताक्षर छ भने ठाकुर पक्षले हस्ताक्षर संकलनकै लागि भनेर समय मागेको आयोगले जनाएको छ ।