एकता जोगाउन एमालेका नेताहरू सक्रिय

भट्टराईको प्रश्न–विपक्षसँग मिल्ने पार्टीभित्र नमिल्ने ?


काठमाडौं, (नेस) । 

सत्तारूढ दल नेकपा एमालेका दोस्रा तहका नेताहरू पार्टीभित्रको विवाद समाधान गरेर पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने छलफलमा जुटेका छन् ।प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपीशर्मा ओलीले पार्टीलाई जेठ ३ पूर्वकै अवस्थामा फर्काउने ६ बुँदे घोषणा गरे पनि पार्टीका खनाल–नेपाल समूहले अस्वीकार गर्ने निर्णय गरेको छ ।

पार्टीबाट कारबाहीमा पर्नुभएका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहले ओलीले अलमल्याउने खेलअन्तर्गत ६ बुँदे प्रस्ताव गरेको जवाफ दिएको थियो । पार्टीलाई विभाजित हुन नदिनका लागि एमालेका दोस्रा तहका नेताहरू दैनिकरूपमा भेटघाट र छलफलमा जुटेका छन् ।संस्थापन पक्षबाट सुवास नेम्बाङ, प्रदीप ज्ञवाली, विष्णु पौडेल, खनाल–नेपाल समूहबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र योगेश भट्टराईलगायतका नेताहरूबीच दैनिकरूपमा संवाद भइरहेको छ । दोस्रा तहका नेताहरूबीच पार्टी एकता बचाउने समझदारी भए पनि कसरी विवाद समाधान गर्ने भन्ने विषयमा ठोस सहमति भने जुट्न सकिरहेको छैन । नेता सुरेन्द्र पाण्डेले भेटघाट सकारात्मक भइरहेको बताउँदै आफूहरू पार्टी एकता बचाउने पक्षमा दृढ भएर लागेको बताउनुभयो । उहाँका अनुसार शीर्ष तहमा नेताहरूबीच संवाद गराउने वातावरण तयार गर्ने विषयमा कुराकानी भइरहेको छ ।

पार्टी एकता बचाउनुपर्ने पक्षमा दैनिकरूपमा छलफलमा जुट्दै आउनुभएका नेता योगेश भट्टराईले एमाले एकता नहुनुको मूल जड पार्टीभित्र आपसमा सहकार्य गर्न तयार नहुने रहेको बताउनुभएको छ । बुधबार उहाँले सामाजिक सञ्जालमार्फत प्रश्न गर्दै भन्नुभएको छ– ‘अरू दलसँग सहकार्य गर्न तयार हुने तर पार्टीका नेतासँग मिल्न किन तयार नभएको ?’‘एमालेको एकताको मूल जड कमरेड केपीओली आफ्नै पार्टीका वरिष्ठ नेता कमरेड जेएन खनाल र कमरेड माधव नेपालसँग सहकार्य गर्न तयार नहुने तर महन्त ठाकुर र राजेन्द्र महतोसँग सत्ता साझेदारी र अन्य विषयमा गठबन्धन गर्न तयार हुने, कमरेड जेएन खनाल र माधव नेपाल आफ्नै पार्टीका अध्यक्ष कमरेड केपी ओलीसँग मिल्न तयार नहुने तर शेरबहादुर देउवा, प्रचण्ड र उपेन्द्रसँग सत्ता साझेदारी र अन्य विषयमा गठबन्धन गर्न तयार हुने ? कसले, किन र केका लागि गर्दै छ यो सब ?’ –उहाँले प्रश्न गर्नुभएको छ ।भट्टराईले एमाले एकताको समस्याको मूल जड यही रहेको बताउँदै यस विषयमा गम्भीर छलफल र साझा निष्कर्षका साथ साझा अभियानमार्फत एमालेको एकता बचाउन जरूरी रहेकोमा जोड दिनुभएको छ ।