चोर बिरालोका कारण मालिक्नी लज्जित


न्युयोर्क, (एजेन्सी) । 

अमेरिकाको ओरेगन निवासी ‘केट फेल्मेट’ नामक महिला आफ्नो पाल्तु बिरालोको चोर्ने बानीको कारण निकै लज्जित हुनुपरेको छ । ती चोर बिरालोले छिमेकीका पञ्जा, नुहाउने बेला लगाउने अन्य पोसाकलगायत एउटा क्यामेरासमेत चोरेर ल्याएपछि बाध्य भएर उनले सार्वजनिक रूपमै साइनबोर्ड लेखेर आफ्नो बिरालो कुख्यात चोर भएको घोषणा गरेकी छन् ।

फेल्मेटले आफ्नो तीन वर्षीय बिरालो एस्मेले चोरेका सामान प्रर्दशन गरेर सम्बन्धित छिमेकीहरूलाई लिन आउन आग्रहसमेत गरेकी छन् । ५० वर्षीया फेल्मेटले साइनबोर्डमा ‘मेरो बिरालो चोर हो । कृपया उसले चोरेका तपाईंका सामानहरू छानेर लानुहोस्’ लेखेर त्यसको छेउमै सामानहरू राखिदिएकी छन् । एस्मेले चोर्न थालेको पनि लामै समय भइसकेको रहेछ ।

पेसाले डाक्टर फेल्मेट भन्छिन्, ‘गत वर्ष उनले एक दिन त एकैचोटी ११ वटा मास्क चोरेर घर ल्याएको थियो । कमसेकम कुनै चरा त मारेर ल्याएनन् भन्दै मेले त्यसको प्रशंसा गरेकी थिएँ । कुनै सामान चोरेर ल्याउँदा मैले गएर स्यावासी नदिएसम्म एस्मे घरको पछाडिको ढोकामा बसेर अनौठो आवाज निकालेर कराइरहन्थ्यो ।