तोकिएकै मितिमा महाधिवेशन हुन्छ: देउवा


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २०७८ भदौमै पार्टीको महाधिवेशन हुने बताउनुभएको छ । पार्टीभित्रको आन्तरिक विवाद र कोभिड–१९ का कारण महाधिवेशन विषयमा आशङ्का उब्जिरहेको बेला उहाँले तोकिएकै मितिमा महाधिवेशन हुने बताउनुभएको हो ।

सभापति देउवाले बुधबार एक वक्तव्य जारी गर्दै पार्टीको महाधिवेशन प्राविधिक वा प्रशासनिक विषय मात्र नभएर महत्वपूर्ण राजनीतिक अभियान पनि भएको बताउनुभएको छ । पार्टीको जीवन्तताका लागि महाधिवेशन महायज्ञ हो भन्ने कुरा आफूले राम्ररी बुझेको जिकिर गर्दै देउवाले महाधिवेशन गर्न आफू पूर्ण प्रतिवद्ध रहेको बताउनुभएको छ । वक्तव्यमा महाधिवेशन हुँदैन कि भन्ने भ्रममा नपर्न पार्टीका नेता, कार्यकर्ताहरूलाई आग्रह गर्दै उहाँले भन्नुभएको छ–‘महाधिवेशनको विषयलाई लिएर कसैले पनि भ्रममा राख्ने वा भ्रममा रहने काम गर्न हुँदैन । बरू पार्टीको महाधिवेशन पार्टीका सबै नेता र सदस्यहरू मिलेर सम्पन्न गर्ने कार्य हो ।’

सभापति देउवाले असार र साउन महिनाभित्र महाधिवेशनका लागि सबै पूर्वतयारी सकेर निर्धारित समयमा नै महाधिवेशन गर्ने बताउनुभएको छ । पार्टीको क्रियाशील सदस्यताको व्यवस्थापन, वडादेखि प्रदेश तहसम्मका अधिवेशनहरूको तयारीलगायत महाधिवेशनका सबै तयारी गर्नुपर्ने भएकाले यसका लागि निर्वाचन समिति, क्रियाशील सदस्यता छानविन समिति गठन भई काम भइरहेको उहाँले बताउनुभएको छ ।