बैतडीमा खोप अभियान जेठ २८ देखि मात्रै


विनोद सिंह विष्ट–बैतडी ।

देशभर जेठ २५ गतेदेखि जेष्ठ नागरिकलाई खोप लगाउने अभियान शुरू भइसकेको भएता पनि बैतडीमा भने शुरूहुन सकेको छैन ।सरकारले जेठ २५ गतदेखि ६२ देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई कोरोना विरुद्धको भेरोसेल खोप लगाउन भने पनि बैतडीमा भने जेठ २८ गतेदेखि खोप अभियान शुरू हुने भएको हो ।

शुरूमा ६० देखि ६४ बर्षका नागरिकलाई खोप दिने भनिएकोमा पछि संशोधन भएर ६२ देखि ६४ वर्षका नागरिकलाई खोप दिने भनेकाले खोप अभियान शुरू गर्न केही ढिलाइ भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो–‘पहिला ६० देखि ६४ भनेकोमा अहिले ६२ देखि ६४ भनेकाले सबै ठाउँमा सूचना प्रवाह गर्नका लागि केही ढिला शुरू गर्ने गरेका हौं ।’स्वास्थ्य कार्यालयका अनुसार जिल्लाको दशरथचन्द नगरपालिका, दोगडाकेदार गाउँपालिका र डिलाशैनी गाउँपालिकामा जेठ २८ गते खोप लगाइनेछ भने मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा जेठ ३० गते खोप लगाइनेछ ।यस्तै पाटन नगरपालिका, पुर्चौंडी नगरपालिका, सिगास गाउँपालिका र सुर्नया गाउँपालिकामा असार १ गते खोप लगाइने जनाइएको छ ।

उक्त अभियानका लागि जिल्लाका प्रत्येक वडाका स्वास्थ्यचौकीमा खोप केन्द्र तोकिएका स्वास्थ्य कार्यालयका खोप निरीक्षक हरिश भट्टले जानकारी दिनुभयो ।
बैतडीमा ६२ देखि ६४ वर्ष उमेर समूहका नागरिक करीब ३ हजार ५ सय जना रहेका अनुमान गरिएको छ । जिल्लामा अहिले ३ हजार ७ सय ८० मात्रा खोप आइपुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । पहिला कोभिसिल्ड खोप लगाएका जेष्ठ नागरिकलाई दोस्रो डोज नभएकाले अहिले भेरोसेल खोप लगाउँदा भने दोस्रो मात्रा मौज्दात राखेर मात्रै खोप दिइने भएको छ ।

खोप लगाउन आउँदा आफ्नो उमेर खुल्ने प्रमाणपत्र साथमा लिएर आउन हुनसमेत आग्रह गरिएको छ । यस्तै खोप लगाउन आउँदा र खोप लगाउँदाका स्वास्थ्यका मापदण्ड अनिवार्यरूपमा पालना गर्नसमेत स्वास्थ्य कार्यालयले आग्रहसमेत गरेको छ ।भेरोसेलको दोस्रो मात्रा २८ दिनभित्र दिईसक्नुपर्ने स्वास्थ्य कार्यालयले जनाएको छ ।बैतडीमा हाल कोरोनाका २ सय ९० जना कोरोना सक्रिय संक्रमित रहेका छन् भने १६ जनाको मृत्यु भइसकेको छ ।