स्वास्थ्यमन्त्री तामाङद्धारा मातातीर्थ सामूदायिक अस्पतालमा जडित अक्सिजन प्लान्टको उद्घाटन


भगवती तिमल्सिना , काठमाडौं । 

चन्द्रागिरी नगरपालिका वडा नम्बर ८ स्थित् मातातीर्थ सामूदायिक अस्पतालमा मुनरक ईन्टरनेश्नल प्रा.लीद्धारा जडित अक्सिजन प्लान्टको स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले उद्घाटन गर्नुभएको छ । मन्त्री तामाङले अस्पतालमा जडित अक्सिजन प्लान्टको उद्घाटन गर्नुको साथै सोही स्थानमा रहेको आईसोलेशन सेन्टरको समेत निरीक्षण गर्नुभएको थियो ।

मन्त्री तामाङले उद्घाटन गर्दै चन्द्रागिरी नगरपालिका अक्सिजनमा आत्मनिर्भर बनेको भन्दै यहाँका जनप्रतिनिधिहिरुलाई बधाई तथा धन्यवाद दिनुभयो । अक्सिजन प्लान्ट जडान गरेर आफ्नो जिल्ला सिन्धुपाल्चोकलाई पहिलो जिल्ला बनाउने प्रयास गरेपनि चन्द्रागिरी नगरपालिका पहिलो भएकोमा उहाँले खुशी व्यक्त गर्नुभयो ।सरकारले देशव्यापी रुपमा अक्सिजनको कुनै अभाव हुन नदिने पनि प्रतिबद्धता जनाउँनुभयो । अक्सिजन प्लान्ट जडान गर्नको लागि सरकारले आवश्यक बजेटसमेत विनियोजन गरिसकेकोले अब कार्यान्वयनको चरणमा जाने बताउँनुभयो । मन्त्री तामाङले उक्त सामूदायिक अस्पताललाई चाहिने आवश्यक सहयोग गर्न सरकार तयार रहेको बताउँनुभयो । मन्त्री तामाङले देशभर नै सबै नागरिकलाई चाँडै कोरोना विरुद्वको खोपको सुनिश्चिता गर्नेगरि काम गरिरहेको बताउदै खोप सुनिश्चित नहुन्जेलसम्म सम्पूर्ण नागरिकलाई सुरक्षित रहन आग्रह गर्नुभयो ।

सोही अवसरमा अक्सिजन प्लान्ट जडान गर्ने कम्पनी श्री मुनरक ईन्टरनेश्नल प्रा.ली.का प्रवन्ध निर्देशक ई. प्रशान्त झाले तोकिएको समयभन्दा अघि नै आफूहरुले काम सम्पन्न गरेको बताउँनुभयो । उहाँले प्लान्टले २४ घण्टामा ४० लिटर क्षमताको ४० देखि ४८ वटा सिलिण्डर उत्पादन गर्ने पनि जानकारी गराउँनुभयो । उहाँले सबै व्यवस्था मिलेको खण्डमा दश दिनभित्रै प्लान्ट जडान गर्न सकिने बताउँनुभयो ।कार्यक्रममा प्रदेशसभा सदस्य रमा आलेमगरले छोटो समयमै अक्सिजन प्लान्ट जडान गर्न सफल भएकोमा चन्द्रागिरी नगरपालिकाका जनप्रतिनिधिहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले अस्पताललाई आवश्यक सहयोग गर्नसमेत मन्त्री तामाङलाई आग्रह गर्नुभएको थियो । त्यसैगरी चन्द्रागिरी नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले सबैको सहयोगले तोकिएको समयभन्दा धेरै अघि नै अक्सिजन प्लान्ट जडान गर्न सकिएकोमा सहयोगी संघसंस्था, व्यक्ति तथा स्वास्थ्य मन्त्रालयलाई धन्यवाद ज्ञापन गर्नुभयो ।कार्यक्रममा चन्द्रागिरी नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष सन्तोष खड्काले सबै नगरवासी, प्रदेश सदस्यहरु, जनप्रतिनिधिहरुको सहयोगको कारण चाँडै नै अक्सिजन प्लान्ट जडान गर्न सकिएको बताउँनुभयो । सोही अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशषेज्ञ डा. रोशन पोखरेल, नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत निरज पौडेल लगायत नगरपालिकाका जनप्रतिनीधि र स्थानियहरुको उपस्थिती रहेको थियो ।