एनसेलद्वारा १९ देशको अन्तर्राष्ट्रिय कल शुल्क परिमार्जन


काठमाडौं, नेस । 

एनसेल आजियाटाले जेठ २१ गतेदेखि लागू हुने गरी विभिन्न १९ देशको अन्तर्राष्ट्रिय कल शुल्क परिमार्जन गरेको छ । गत जेठ ९ गते नेपाल दूरसञ्चार प्राधिकरणले एनसेललाई इटाली, माल्टा, जर्मनी, ताजिकस्थान, जोर्डन, थाइल्यान्ड, लाटभिया, स्लोभेनिया, माल्दिभ्स, बेल्जियम, इस्टोनिया, क्रोएसिया, फिनल्याण्ड, नेदरल्यान्डस, बुल्गेरिया, सिरियन अरब रिपब्लिक, लिथुआनिया र साइप्रस गरी १९ देशका लागि नयाँ अन्तर्राष्ट्रिय कल शुल्कको स्वीकृति प्रदान गरेको थियो ।

परिमार्जित अन्तर्राष्ट्रिय कल शुल्कअनुसार उल्लेखित १८ वटा देशको शुल्क करबाहेक प्रतिमिनेट ३० रुपियाँ निर्धारण गरिएको छ भने माल्दिभ्सको प्रतिमिनेट कल शुल्क करबाहेक ३० रुपियाँ।६५ पैसा निर्धारण भएको छ । अन्तर्राष्ट्रिय कलका लागि कम्पनीलाई लाग्ने खर्चको तुलनामा खुद्रा दर निक्कै कम भएको र सम्बन्धित देशका साझेदारहरुले सन् २०१६ देखि आफ्नो शुल्क बढाएको कारणले गर्दा विगत ५ वर्षदेखि एनसेलले अन्तर्राष्ट्रिय कलवापतको राजस्वमा ठूलो नोक्सानी व्यहोर्दै आएको जनाएको छ ।

साथै यस अघि एनसेलले यी देशका लागि प्रदान गर्दै आएको अन्तर्राष्ट्रिय शुल्क अन्य सेवाप्रदायकको स्वीकृत कल शुल्कभन्दा ६ गुणा कम दरमा ग्राहकलाई अन्तरराष्ट्रिय कल सुविधा प्रदान गर्दै आएको थियो ।कम्पनीका अनुसार सन् २०१६ देखि अप्रिल २०२१ सम्ममा एनसेलले अन्तर्राष्ट्रिय कल सेवामा अव्यवहारिक नोक्सानी व्यहोरेको छ । विगत ५ वर्षमा एनसेलले अन्तर्राष्ट्रिय कलबाट हुने आयमा रु २७ दशमलव ५ करोडभन्दा बढी नोक्सान भोगेको छ ।