पुँजी बजारको विस्तार गर्न निर्देशन


काठमाडौं, नेस ।
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुँजी बजारमा आकर्षण र लगानी बढ्नुलाई सरकारप्रति लगानीकर्ताको विश्वासका रूपमा लिएको बताउनुभएको छ । नेपाल धितोपत्र बोर्डको २९औं वार्षिकोत्सव कार्यक्रममा उहाँले लगानीकर्ताको लगानी सुरक्षित हुने गरी पुँजी बजारको विस्तार हुने वातावरण तयार गर्न बोर्डलाई निर्देशन दिनुभयो ।

अर्थमन्त्री पौडेलले बजेटमा उल्लेख गरिएको वस्तु विनिमय बजार शुरू गरेन तथा कमीकमजोरी हटाइ बोर्डलाई गतिशील बनाउन पनि निर्देशन दिनु भएको थियो । अर्को एक कार्यक्रममा उहाँले बजेटमा उल्लेखित सबै कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्ने बताउनु भएको छ । अर्थमन्त्री पौडेलले साउन १ गतेदेखि बजेट कार्यान्वयनलाई द्रुत गतिमा अघि बढाउन आवश्यक पर्ने कार्यविधि चालू आर्थिक वर्षको असार मसान्तभित्र तयार गरिसक्ने जानकारी दिनुभयो । आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालय पनि तयारीको चरणमा रहेको उल्लेख गर्दै उहाँले अर्थ मन्त्रालयले पनि बजेट कार्यान्वयनका लागि गृहकार्य शुरू गरिसकेको बताउनुभयो । उहाँले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत देशभरका सामुदायिक विद्यालय र क्याम्पसको पूर्वाधार तीन वर्षभित्र निर्माण गरिसक्ने र आगामी आर्थिक वर्षमा १५ सय सामुदायिक विद्यालय र क्याम्पसको पूर्वाधार निर्माण प्रारम्भ गर्ने जानकारी दिनुभयो ।