आफैंले स्थापना गरेको अस्पताललाई पाखा, अर्कोलाई काखा


नेपाल समाचारपत्र, कीर्तिपुर ।

विष्णुदेवी अस्पतालको सेवा प्रवाहको गुणस्तर बढाउन कीर्तिपुर नगरपालिका उदासीन रहेको भन्दै सरोकारवालाहरूले गुनासो गरेका छन् ।डेढ दशकअघि आफंैले स्थापना गरेको अस्पतालको पूर्वाधार, सेवा प्रवाह र स्तर बढाउन नगरपालिकाले देखाएको उदासीनतालाई लिएर सम्बद्ध पक्ष र स्थानीयले ध्यानाकर्षण गर्दै आए पनि नगरपालिकाले त्यसलाई निरन्तर बेवास्ता गर्दै आएको छ ।

हाल विष्णुदेवी अस्पतालमा मधुमेहको प्रयोगशाला परीक्षण, निःशुल्क उपलव्ध औषधि वितरण, निशुल्क खोप सेवा, गर्भवती महिला परीक्षण र सामान्य परीक्षण सेवा मात्र उपलब्ध छ । नगरपालिकाले आधारभूत स्वास्थ्य सेवाबाहेक अरू सेवा प्रवाहको गुणस्तर बढाउन नियतबश नै नचाहेको सम्बद्ध व्यक्तिहरूको आरोप छ ।विष्णुदेवी अस्पतालमा विशेषज्ञ सेवा, मातृ शिशु सेवा, प्रसुति सेवा, पोस्ट डेलिभरी सेवा, अन्तरङ्ग सेवा, एक्स–रे सेवा (मेसिन नै विभागमा लिन नगएको), सामान्य शल्यक्रिया सेवा, पूर्ण प्रयोशाला परीक्षण सेवा उपलब्ध छैन । नगरपालिकाले अस्पताल कार्यरत स्वास्थ्यकर्मीको सही सदुपयोग गर्न पनि नचाहेको भान हुन्छ । अस्पतालअन्तर्गत ११ वटा शहरी स्वास्थ्य क्लिनिक र करिब ८० जना स्वास्थ्यकर्मी तथा कर्मचारी कार्यरत छन् ।

नगरपालिकाले वार्षिक करोडौं रुपियाँको बजेट मधुमेह र रक्तचापको उपचारका लागि छुट्याउने गरेकोमा उक्त कार्यक्रम विष्णुदेवी अस्पतालमा सञ्चालन गर्न पटकपटक ध्यानाकर्षण गराइए पनि नगरपालिकाले त्यसप्रति निरन्तर बेवास्ता गर्दै आएको बताइएको छ । नगरपालिकाकै बेवास्ताका कारण विष्णुदेवी अस्पताल र यस अन्तर्गतका ११ वटा स्वास्थ्य चौकीका लागि भनेर संघीय तथा प्रादेशिक सरकारबाट विभिन्न योजना तथा कार्यक्रमका लागि प्राप्त हुने बजेट मध्येबाट करोडौंको बजेट फिर्ता हुने गरेको छ ।

यसको ठीक उल्टो नगरपालिकाले एकतर्फीरूपमा कीर्तिपुर अस्पतालको पक्षपोषण गर्न लागि परेको विष्णुदेवी अस्पतालका स्वास्थ्यकर्मीहरू बताउँछन् । प्रत्येक वर्ष प्रजनन् स्वास्थ्य, मधुमेह तथा रक्तचापको औषधि वितरण लगायतका करोडौं रुपियाँ बजेटका विभिन्न कार्यक्रम विष्णुदेवी अस्पतालमा सञ्चालन नगरी कीर्तिपुर अस्पतालमा सञ्चालन गरिरहेको उनीहरूले बताएका छन् ।

कीर्तिपुर अस्पताल फेक्ट, नेपाल नामक गैर सरकारी संस्थाबाट सञ्चालित अस्पताल हो । यसअन्तर्गत प्रदर्शनी मार्गस्थित मोडेल अस्पताल पनि पर्दछ । कीर्तिपुर अस्पतालको व्यवस्थापन समितिको अध्यक्षमा स्वयम् नगरपालिकाका मेयर रमेश महर्जन रहनुभएको छ । स्वास्थ्य जस्तो क्षेत्रमा समेत मेयरले पार्टीकरण गरेको अस्पतालका स्वास्थ्यकर्मीहरूको आरोप रहेको छ । आफ्नै विष्णुदेवी अस्पताललाई बेवास्ता गरेर एमाले नेता, कार्यकर्ताहरूको मात्र वर्चस्व रहेको गैर सरकारी संस्थावाट सञ्चालित अस्पतालको सम्पति वृद्धि गर्न मात्र नगरपालिकाको ध्यान गइरहेको उनीहरूको भनाइ छ ।
स्थानीय तहको निर्वाचनपछि प्रत्येक वर्ष लाखौं बजेट कीर्तिपुर अस्पतालले पाइरहेको छ, तर विष्णुदेवी अस्पताल प्राथमिकतामा परेको छैन । अस्पतालका एक स्वास्थ्यकर्मीले भने –‘नगरपालिकाको वजेट प्राप्त गरेता पनि कीर्तिपुर अस्पतालमा यस वापत न सेवा शुल्क कम छ, न नगरवासी जनतालाई खास सुविधा तथा सहुलियत छ ।’
कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले भने अस्पतालको रूपमा विकास गर्न ठाउँको अभाव, सरकारले जनशक्ति नपठाउने जस्ता कारणले विष्णुदेवी अस्पतालको सेवा प्रवाहको गुणस्तर बढाउने अवस्था नरहेको र नगरपालिकाको प्राथमिकतामा नपरेको बताउनुभएको छ ।