विभिन्न अस्पताल तथा आइसोलेसन केन्द्रलाई चु जीको सहयोग



काठमाडौं, (नेस) । 

नेपाल चिकित्सक संघले ताइवानस्थित चु जी फाउन्डेसनको सहयोगमा केन्द्रीय अस्पताल, प्रादेशिक अस्पताल, जिल्ला अस्पताल एवं प्राथमिक स्वास्थ्य केन्द्र, मेडिकल कलेजलगायतमा स्वास्थ्य सामग्री उपलब्ध गराउने भएको छ ।यसबीच, संघले आइसोलेसन सेन्टर, एम्बुलेन्स सेवा, कल सेन्टर, टेलिमेडिसिनदेखि आम चिकित्सक र स्वास्थ्यकर्मीका लागि विभिन्न तालिमसमेत सञ्चालन गर्दै आएको छ ।

अक्सिजन प्लान्ट, मोनिटर, अक्सिजन कन्सनट्रेटर, भेन्टिलेटर, एचएफएनसी, पीपीईलगायत ३० लाख मूल्य बराबरको स्वास्थ्य सामग्री सबै प्रदेश अधिकांश स्थानीय तह, तराई, पहाड, हिमाली क्षेत्र, प्राथमिक स्वास्थ्य केन्द्रदेखि केन्द्रीय अस्पताल गरी मेडिकल कलेजसम्म, सुगमदेखि अति दुर्गमसम्म देशका २ सयभन्दा बढी स्वास्थ्य संस्थामा उपलब्ध गराइने जनाएको छ । यी सामग्रीमार्फत महामारीमा आम नागरिकमा स्वास्थ्य सेवा सुनिश्तिता एवं सेवा प्रवाहमा स्वास्थ्यकर्मीलाई सहजता हुने संघले विश्वास लिएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।देशभर वितरण गरिने सामग्रीमा ५ वटा अक्सिजन प्लान्ट, भेन्टिलेटर १०, वाइप्याप मेसिन २ सय थान, एचएफएनसी २ सय थान, मोनिटर ४०, अक्सिजन कन्सनट्रेटर ५ सय ५, सर्जिकल मास्क १६ हजार, गाउन ३ हजार, मेडिकल पीपीई २ हजार र पन्जा १ लाख ४० हजार रहेका छन् ।

यसैगरी, चु जी फाउन्डेसनले आनन्दकुटी विद्यापीठ, स्वयम्भुलाई पनि अटो क्लेभ मेसिन एक थान, पोर्टेबल एक्सरे मेसिन एक थान, इसीजी मेसिन एक थान हस्तान्तरण गरेको छ ।फाउन्डेसनको तर्फबाट मैत्री महास्थवीर र मुकुन्द विष्टले आनन्दकुटी आइसोलेसन सेन्टरलाई उक्त सामग्री हस्तान्तरण गरिएको हो । सो सामग्री सांसद जीवनराम श्रेष्ठले ग्रहण गर्नुभएको हो ।५० बेड क्षमताको आइसोलेसन सेन्टरमा हाल २३ जना उपचारका क्रममा छन् भने २५ जना कोभिड १९ जितेर स्वास्थ्यलाभ गरी डिस्चार्ज भइसकेका छन् ।

महानगरपालिका १५ वडा तथा स्थानीयबासीको सहयोगमा सञ्चालन भइरहेको अक्सिजनसहितको आइसोलेसनका लागि आनन्दकुटी विद्यापीठले स्थानउपलब्ध गराएको छ । मोडेल हस्पिटल नर्सिङ कलेजबाट मेडिकल टिमले २४ सै घण्टा डाक्टर, नर्सको सेवा प्रदान गरिरहेको छ भने बिरामीको सम्पूर्ण परिवारलाई पीसीआर टेस्ट, पौष्टिक खाजाखानालगायत सम्पूर्ण सुविधाहरू निःशुल्करूपमा प्रदान गर्दै आइरहेको छ ।यस आइसोलेसनबाट स्वास्थ्यलाभ गरी घर फर्कनेहरूलाई अक्सिमिटर, थर्मोमिटर, सेनिटाइजर, मास्क, कोभिड बुकलेट तथा आवश्यक औषधिहरू निःशुल्क प्रदान गर्दै आएको सांसद श्रेष्ठले जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्