काठमाडौं उपत्यकासहित देशभर बढ्यो गर्मी


न्युज अफ नेपाल ,काठमाडौं ।

केही दिन यता काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा गर्मी बढेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज मंगलबार काठमाडौको तापक्रम २८ डिग्री सेल्सियस आसपास पुगेको हो ।

मौसमविद् मिनकुमार अर्यालका अनुसार उपत्यका सहित देशका प्राय सबैजसो ठाउँमा तापक्रम बढेको छ । मौसमविद् अर्यालका अनुसार केही दिनसम्म मौसम बद्ली भई पानी परेको र त्यसपछि मौसम सफा भई घाम लागेकाले जमिन तात्तिँदा बढी गर्मी महसुस भएको हो ।

मौसम सफा भएर जमिन तात्तिएकाले रातको समयमा पनि गर्मी महसुस हुन थालेको छ । प्रि-मनसुन लम्बिएका कारण घट्नुपर्ने गर्मी बढेको मौसमविद् अर्यालको भनाइ छ। एक-दुई दिन मौसम यस्तै रहने मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ ।