घरेलु तथा साना उद्योगलाई प्राथमिकतामा राख्न आग्रह


नेपाल समाचारपत्र, काठमाडौं

औद्योगिक पूर्वाधारको मुख्य आधार लघु, घरेलु तथा साना उद्योग भएको सरोकारवालाहरुले जोड दिएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघको ३२ औं स्थापना दिवशका अवसरमा सोमबार वेबिनारमार्फत गरिएको कार्यक्रममा बोल्दै उनीहरुले लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्घनबाट मात्रै अर्थतन्त्र मजबुत र समृद्घ बन्ने बताएका हुन् ।

कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेल सरकारले अर्थतन्त्रको निर्माण र सञ्चालनमा निजी क्षेत्रको सहकार्यसँगै जाने नीति भएको भन्दै लघु, साना तथा घरेलु उद्योगहरुको विकास, प्रवद्र्घन, सम्वद्र्घनका सन्दर्भमा यसले लिने नीति र कार्यक्रमका सन्दर्भमा महासंघसँगको सल्लाहबाट अगाडि बढेको बताउनुभयो । मुलुकको साधन स्रोतको अवस्थालाई हेरेर साना उद्योगका धेरै विषयलाई समेटेर लैजाने प्रयास गरेको भन्दै उहाँले भन्नुभयो–‘आगामी दिनमा पनि यस्तो प्र्रयास रहिरहने छ ।’ महासंघका अध्यक्ष श्याम गिरीले देशको अर्थतन्त्र भनेको स–साना उद्योगको प्रवद्र्घनबाट शुरु भएको भन्दै एसियाकै दुई मुलुक ताइवान र जापानलाई हे-यौं भने त्यहाँको मेरुदण्ड भनेकै ग्रामीण तह र घरमै रहेका साना उद्योगलाई ठूला उद्योगसँग जोडेर सफल भएका उल्लेख गर्नुभयो । विश्व अर्थतन्त्रको पाँच भागमध्ये डेढ भाग सम्हालेर बसेको अमेरिकाले हाम्राजस्तै स–साना उद्योग एसएमईलाई नै प्राथमिकतामा राखेर नै अर्थतन्त्रको मेरुदण्ड भएको उहाँको भनाइ छ ।

अघिल्लो वर्ष महिला उद्यमी कोषलाई महिला उद्यमी कर्जाको रुपमा परिणत गर्ने र वाणिज्य बैंकमार्फत यसमा लगानी गर्ने भन्ने कार्यक्रम लागू गरियो तर लक्षित वर्गले सहजै प्राप्त गर्न नसकको भन्दै अध्यक्ष गिरीले भन्नुभयो–‘हाम्रो नेटवर्कमा रहेका ११ हजार महिला उद्यमीमध्ये दुई चार सयभन्दा बढीले यो सुविधा प्राप्त गर्न सक्नुभएन । त्यसैगरी युवा उद्यमीको हकमा खासगरी शैक्षिक बेरोजगारलाई उद्यमी बनाउने सन्दर्भमा विशिष्ट जातिगत पहिचानसहित आफ्ना उद्यम प्रवद्र्घन गर्ने सन्दर्भमा र अन्य लघु घरेलु तथा साना उद्योगलाई प्रवद्र्घन गर्न अघिल्लो बजेटले व्यवस्था गर्दागर्दै पनि कतिपय कार्यान्वयन हुन सकेन ।’महासंघका वरिष्ठ उपाध्यक्ष उमेशप्रसाद सिंहले उद्यमीका समस्यामा सरकारसँग पुलको काम गर्दै आएको भन्दै उहाँले अहिले पाँच लाखको हाराहारीमा रहेका उद्योगीलाई सरकारले मान्यता दिएर हरेक समितिमा राखेको भन्दै उहाँले भन्नुभयो–‘ती समितिमा साना उद्योगीको समस्या र आइपरेका समाधानका उपायहरु अवलम्बन गरेका छौं र खोज्ने प्रयास गरेका छौं ।’ महासंघ केन्द्रीय महिला उद्यमी समितिका सभापति अञ्जु उपाध्यायले साना उद्यमीको हकहित संरक्षण गर्न जन्मेको महासंघ आज हजारौं उद्यमी व्यवसायीलाई गोलबद्घ गर्दै अगाडि बढिरहेको बताउनुभयो ।