खोप खरिद गर्न सरकारसँग अनुमति माग


ललितपुर, (नेस) । 

ललितपुर महानगरपालिकाले महानगरवासीको स्वास्थ्य सुरक्षालाई ध्यान दिँदै कोभिसिल्ड खोप खरिदका लागि नेपाल सरकारसँग अनुमति मागेको छ ।
कोभिसिल्ड पहिलो डोज लगाएकालाई धेरै समय रनभुल्लमा राख्न नसक्ने भन्दै महानगरले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सोमबार पत्राचार गरी कोभिसिल्ड खोप खरिदका लागि अनुमति मागेको हो ।

पत्रमा भनिएको छ– ‘अबिलम्ब त्यहाँबाट कोभिसिल्ड खोप उपलब्ध गराइदिन हुन अनुरोध छ, त्यहाँबाट उपलब्ध हुन नसक्ने भएमा ललितपुर महानगरपालिकाले आफ्नै खर्चमा खरिद गर्न अनुमति उपलब्ध गराइदिनहुन अनुरोध छ ।’महानगरभित्र ११ हजार ५ सय कोभिसिल्डको दोस्रो डोज लगाउनबाट विमुख छन् । महानगर प्रमुख चिरीबाबु महर्जनले नेपाल सरकारले खोप ल्याउने छाँटकाँट नदेखिएकाले महानगरले नै खोप खरिदका अनुमति मागेको बताउनुभयो ।

कोभिसिल्डको दोस्रो डोज लगाउन नपाउँदा नागरिकहरू किंमकर्तव्यविमूढ भएको बताउँदै उहाँले भन्नुभयो– ‘हामी महानगरवासीलाई रनभुल्लमा राख्न चाहँदैनौं, आफ्नै पैसा जम्मा गरेर उहाँहरूलाई सुरक्षित राख्न चाहन्छौं ।’ महानगरले जेठ १६ गते पनि खोप खरिदको लागि पत्राचार गरेको थियो ।