सशस्त्र आक्रमणमा एक सय ३२ मारिए


ओउ आगादोउगोउ, (एजेन्सी) ।

बुर्किना फासोको उत्तरी भागमा रहेको एउटा गाउँमा आक्रमण गरी एक शसस्त्र समूहले एक सय ३२ जनाभन्दा बढी मानिसको हत्या गरेको आइतबार सरकारी सूत्रले जनाएको छ । पछिल्लो केही वर्षकै यो सबैभन्दा भयावह र खतरनाक हमला भएको बताइएको छ ।

शनिबार राति सोल्हान गाउँमा भएको सो घटनामा तिनीहरूले घरहरू र स्थानीय बजारमा आगजनी गरेका थिए । कुनै पनि समूहले यस घटनाको जिम्मेवारी लिएको छैन । तर, केही समययता इस्लामिक आक्रमण बढिरहेको छ । आक्रमण विशेषगरी सीमा क्षेत्रमा केन्द्रित हुने गरेको छ संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रेसले यस घटनाको कडा शब्दमा आलोचना गरेका छन् । बुर्किना फासोका राष्ट्रपति रोक क्याबोरले ट्विटरमार्फत तीनदिने राष्ट्रिय शोक घोषणा गर्दै दुष्टहरूको समूहविरुद्ध सबै एकजुट हुनुपर्ने बताएका छन् ।

साथै, उनले सरकारी फौजले आक्रमणकारीहरूको व्यापक खोजीकार्य गरिरहेको पनि बताएका छन् ।शुक्रबार सोल्हानदेखि करिब १ सय ५० किमि उत्तरमा पर्ने तादार्यात गाउँमा भएको यसै प्रकारको अर्को आक्रमणमा अन्य १४ जनाको मृत्यु भएको थियो । गत महिना पनि बुर्किना फासोको पूर्वी भागमा भएको आक्रमण ३० जना मारिएका थिए । लडाकुहरूसँगको संघर्षमा सहयोग गर्ने उद्देश्यले फ्रान्सले माली, चाड, मौरिटानिया, नाइजर र बुर्किना फासोमा आफ्नो फौज तैनाथ गरेको छ ।