स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी अध्यादेश जारी


काठमाडौं, नेस ।

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा आक्रमण गर्नेविरुद्ध कडा कारबाही गर्ने सम्बन्धी अध्यादेश जारी भएको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७८ जारी गर्नुभएको हो ।राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) अनुसार नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा आइतबार (आज) अध्यादेश जारी गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

उक्त अध्यादेशमा स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई घेराउ गर्ने, हातपात गर्ने वा शारीरिक रूपमा आघात पु-याउनेलाई दुई लाख रुपियाँ जरिवाना वा चार वर्ष कैद वा दुवै सजाय हुनसक्ने व्यवस्था गरिएको छ । त्यस्तै, स्वास्थ्य संस्थामा तालाबन्दी, तोडफोड, आगजनी वा घेराउ गर्नेलाई पनि यही सजाय व्यवस्था गरिएको छ ।अध्यादेशमा स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई धम्की दिने, मानसिक तनाव दिने वा अपमानजनक व्यवहार गर्नेलाई ५० हजार रुपियाँसम्म जरिवाना वा एक वर्ष कैद वा दुवै सजाय हुनसक्ने र बिरामीको उपचारमा अवरोध गर्नेलाई २० हजार रुपियाँसम्म जरिवाना र तीन महिनासम्म कैदको सजाय व्यवस्था गरिएको छ ।

पछिल्लो समय अस्पताल तथा स्वास्थ्यकर्मीहरूमाथि आक्रमण बढेपछि स्वास्थ्यकर्मीहरूले आफ्नो सुरक्षाको माग गर्दै आक्रमणकारीलाई कडाभन्दा कडा सजायको व्यवस्थासहित कानुन ल्याउन दबाब दिँदै आएका थिए ।