हेटौंडामै फल्यो स्याउ

1.5k
Shares

न्युज अफ नेपाल, हेटौंडा ।

हिमाली जिल्लाका चिसो ठाउँमा स्याउ फल्नु नौलो कुरा भएन । तर, पछिल्ला दिनमा भने हिमालनजिक र पहाडी बस्तीमा पनि स्याउ खेतीले सफलता पाएको छ ।

सामान्यतः स्याउलाई आवश्यक पर्ने हावापानी हिमालमा पाइने गर्छ । तर, हिमाल र पहाड क्षेत्रमा फल्ने स्याउ तराई क्षेत्रमा पर्ने हेटौंडामा पनि फल्न थालेको छ ।

हेटौंडा—८, कमानेमा स्याउ फलिरहेको छ । कमानेका किशोर पौडेलको बारिमा यतिबेला स्याउ फल्न थालेको हो । स्याउ एक वर्षअघि गर्मी ठाउँमा लगाएका पौडेल हाल चिचिला लागेको स्याउको बोट हेर्दै मक्ख हुनुहुन्छ । १४ कठ्ठा बारिमा ८ सय बिरुवा रोपेर पौडेलले हेटौंडामा पहिलोपटक स्याउ खेती सुरु गर्नुभएको हो ।

पौडेलले नेपालमा चिसो ठाउँमा लगाइएको देखेपछि हेटौंडामा परीक्षणका लागि स्याउ खेती सुरु गरिएको बताउनुभयो । सर्लाहीको हरिवनबाट तीन सय बिरुवा ल्याएर रोप्नुभएका उहाँको हालसम्म २० लाख लगानी भइसकेको छ । स्याउ खेतीलाई परीक्षणका रुपमा सुरु गर्नुभएका उहाँले सफल भए दीर्घकालीनरुपमा व्यावसायिक बनाउने योजना बनाएको बताउनुभयो ।

हाल २०/२५ बोटमा मात्र फल लागेको छ भने बाँकीमा फुल्दैछ । पौडेलका अनुसार बारिका केही बोट २ वर्षमा फल्ने खालको भएकाले पनि यस वर्ष सबैमा नफलेको हो । फलेका स्याउमा साना काला दाग देखिएको छ । स्याउलाई आवश्यक मल समयमा नपाउँदा फलेको पहिलो वर्षमा स्याउमा कालो दाग देखिएको पौडेलको भनाइ छ ।

‘स्याउलाई उपयुक्त माटो भएन होला । स्याउलाई आवश्यक मलजन्य सामान स्थानीयस्तरमा पाइएन । त्यसैले स्याउको दानामा दाग लागेको हुनसक्छ,’ उहाँले भन्नुभयो । यहाँको हावापानीमा समेत स्याउ फल्छ भन्ने सुनेपछि उहाँले आँट गर्नुभएको हो । भारतमा फल्ने जातका बिरुवा पाइए उत्पादन हुने विश्वास गरिएको छ । ‘यस वर्ष अध्ययन गर्छु, राम्रो भए व्यावसायिक उत्पादन गर्ने योजना छ,’ उहाँले भन्नुभयो । स्याउको बोटमा कुनै प्रकृतिको कीटनाशक औषधि राखिएको छैन । सामान्य मल र पानीमात्र राखिएको छ ।